काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र त्यसले सुनिश्चित गरेका अधिकारको रक्षाका लागि परिवर्तनकारी शक्तिहरूबीच एकता आवश्यक रहेको बताउनुभएको छ।
नेकपा पर्साले आयोजना गरेको पार्टी एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सार्वभौमसत्ता, सङ्घीय शासन व्यवस्था, धर्मनिरपेक्षता तथा समावेशी र समानुपातिक प्रणालीलगायत संवैधानिक अधिकारको संरक्षणमा जोड दिनुभयो।
उहाँले वर्तमान राजनीतिक परिस्थिति असहज र असाधारण रहेको भन्दै मौलिक हक, स्वतन्त्र न्यायपालिका तथा दलित, महिला, मधेसी र उत्पीडित समुदायका अधिकार कटौती हुने खतरा रहेको दाबी गर्नुभयो। साथै, जनताका लागि पार्टीले गरेका काम प्रभावकारी रूपमा बुझाउन नसकेको स्वीकार गर्दै कम्युनिष्ट पार्टीहरूबीच कार्यगत एकता र एकीकरणको आवश्यकता रहेको बताउनुभयो।
कार्यक्रममा पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक न्याय र समानतामा आधारित समाजवादका लागि कम्युनिष्टहरूबीच एकता आवश्यक रहेको बताउनुभयो। नेता मातृका यादवले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको पक्षमा काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो।











