काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूलाई आफ्नो ज्ञान, सीप, विज्ञता र अनुभवको अधिकतम उपयोग गर्दै मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलका क्रममा प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन सांसदहरूलाई आग्रह गरेका हुन्।
उनले सांसदहरू नीति निर्माणको महत्वपूर्ण तहमा रहेकाले आफ्नो प्राविधिक दक्षतालाई देश विकासमा प्रयोग गर्नुपर्ने बताए। पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए।
प्रधानमन्त्री शाहले निर्वाचन तथा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकाससँग सम्बन्धित प्राविधिक विषयमा केन्द्रित हुनुपर्ने धारणा राखे। छलफलमा इन्जिनियरिङ पृष्ठभूमिका विभिन्न सांसद तथा प्रधानमन्त्रीका पूर्वाधार विकासमन्त्री सुनील लम्साल र राजनीतिक सल्लाहकार असिम शाहको उपस्थिति थियो।











