मंगलबार, बैशाख ०८, २०८३
काभ्रेमा यातायात कार्यालय स्थापना हुने

काभ्रे । जिल्लाको बनेपा नगरपालिका वडा नं. ६ बुडोलमा यातायात व्यवस्था कार्यालय स्थापना हुने भएको छ ।

काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर जिल्लालाई लक्षित गरेर मध्यपूर्वी जिल्लाको प्रस्थान विन्दु बनेपामा यातायात कार्यालय स्थापना गर्न लागिएको श्रम रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ ।

शुक्रबार एक कार्यक्रमबीच बनेपा नगरपालिका र बाग्मती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयबीच कार्यालय स्थापना गर्नेबारे सम्झौता भएको छ ।

सम्झौता अनुसार, बनेपा नगरपालिकाले कार्यालय स्थापना गर्नको लागि बुडोलस्थित सपिङ कम्प्लेक्सको दुई तला १० वर्षका लागि निशुल्क उपलब्ध गराउनेछ ।

मन्त्री लक्ष्मण लम्साल, नगर प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा दाहाल, बनेपा वडा नं ६ का अध्यक्ष सचितानन्द केसीको रहोवरमा भएको सम्झौतामा बाग्मती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौला र बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईले हस्ताक्षर गरेका छन् ।

कार्यालयबाट सवारीचालक अनुमति पत्र, नविकरण, सवारी दर्ता, प्रदुषण जाँच, नामसारी, राजस्व लगायतका काम हुने बाग्मती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले जानकारी दिए ।

मन्त्रालयले यसअघि दोलखा, रामेछाप, सिन्धुली लगायतका जिल्लालाई लक्षित गरी खुर्कोटमा कार्यालय स्थापना गरेको थियो ।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय