काभ्रे । जिल्लाको बेथानचोक गाउँपालिकामा सञ्चालित ढुङ्गा तथा रोडा खानी विधी–विधान र नीतिसम्वत् ढङ्गबाट सञ्चालन भएका छन् । तर त्यस्तो हैन, बेथानचोकमा सञ्चालित अधिकांश त्यस्ता उद्योग विधि मिचेर बर्षौँदेखि चलेका छन् ।
यसरी चल्दै आएका उद्योगको अनुगमन मूल्यांकन गर्नुपर्ने स्थानीय सरकार भने मौनप्रायः छ । स्थानीय सरकारले चासो नदिएपछि स्थानीय र जिल्लास्थित प्रहरी प्रशासन पनि सो बारेमा बेखबर जस्तै बनेको छ । हुन त, काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालित कुनै पनि क्रसर तथा खानी मापदण्डअनाुसार चलेका छैनन् । बेलाबखत जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालयले प्रहरीको सहयोगमा आँखामा छारो हाल्ने गरी ‘नक्कली अनुगमन’ गर्ने गरेको पनि पाइन्छ । तर, सो अनुगमन प्रकृया पुरा गराउनेबाहेक थप केही हुन सकेको छैन ।
उद्योग दर्ता हुने निकाय साना तथा घरेलु उद्योग कार्यालय काभ्रे पनि मृतप्रायः नै देखिन्छ । सो कार्यालयले हालसम्म बजार अनुमगनदेखि खानी तथा क्रसर उद्योगको प्रभावकारी रुपमा अनुगमन गर्न सकेको छैन । पछिल्लो समय स्थानीय सरकारले नै अधिकार पाएपनि बेथानचोक गाउँपालिकाको सिङ्गो कार्यपालिका निदाएको छ । बेथानचोकमा खानीले नाङ्गो नाँचमा दादागरी गरिरहँदा पालिका मौन बसेपछि स्थानीय भने खुसी देखिएका छैनन् । युवा नेतृत्वले के के गर्ला भनेर सोचेका स्थानीय खानी क्रसरको अनुगमन हुन नसक्दा पुुरानै नेतृत्व गजब रहेछ भनेर भन्न थालेका छन् ।
खानीको कुरा पनि रोचक नै छ । १० बर्षदेखि कसरी खानी चलिरहेको छ भनेर जान्ने भुक्तभोगी बेथानचोकमा धेरै छन् । बेथानचोक–४ मा लामो समयदेखि दर्तासमेत नभएको खानी नेपाली कांग्रेसका नेतासहितको १० जनाको समुहले चलाएका छन् । सरकारी मापदण्डकोसमेत पालना नगरेको र प्रकृयागत रुपमा दर्ता पनि नगरी खानी सञ्चालन गरिरहँदासमेत सम्बन्धित निकाय मौन देखिन्छ ।
खानी तथा क्रसरको यस्ता हर्कत देखिँदा पनि स्थानीयस्तरमा अनुगमन तथा कार्वाही गर्नुको सट्टा अप्रत्यक्षरुपमा गाउँपालिकाकै संरक्षण देखिएको छ । त्यस्तै बेथानचोक गापा–४ मा रामकृष्ण निर्माण सेवा प्राली र एसएस रोड ढुंङ्गा उद्योगले पनि मापदण्ड विपरित खानी चलाउँदै आएको छ । त्यस्ता उद्योगले मासिक रुपमा रकम बुझाउने गरेको आरोप स्थानीयको छ ।
बेथानचोककै चलाल गणेशस्थानमा रहेको चलाल गणेश रोडा ढुंगा उद्योग र चलाल गणेश खनिज उद्योग विगत केही समयदेखि मापदण्ड तोडेर संचालन भइरहेका छन् । तीनीहरुलाई स्थानीय जनप्रतिनिधि र प्रहरी चौकी खोपासीको सिधै संरक्षण भएपछि निर्धक्क चलिरहेका हुन् । शक्ति र पावरको भरमा सरकारी मापदण्डविपरित ढुंगा खानी एवं क्रसर सञ्चालन हुदाँसमेत गाउँपालिकाले खासै मतलव नगरको स्थानियको भनाई रहेको छ ।
चलालमै चण्डेश्वरी रोड ढुंगा उद्योग, आर एस इण्डष्ट्रिज (चुना ढुंगा भनेर स्ल्याप ढुंगा उत्खनन्)ले समेत सरकारी मापदण्ड विपरित सञ्चालन गर्दै अखाएको छ । स्थानीयले पटक पटक विरोध गर्दासमेत स्थानीय सरकारले वेवास्ता गरेको पाइएको छ ।
बेथानचोक गाउँपालिका ४ नंवर वडाका अध्यक्ष कृष्णबहादुर लामाले आफ्नो वडामा मापदण्ड विपरित खानी, क्रसर सञ्चानल भएको स्वीकारे ।
उनले यस विषमा आफूले पालिकामा कुरा उठाएकोसमेत बताए । उनले भने ‘यस पालिकाअन्र्तगत वडा नं. ४ मा मापदण्ड विना क्रसर तथा खानी सञ्चालन हुँदा समस्या आईरहेको र यसका लागि अब पालिकाबाट चाडै नै अनुगमन गर्ने, मापदण्ड विपरितका खानी तथा क्रसर बन्द गराउने लागिनेछ ।’
नयाँ मापदण्ड अनुसार धार्मिक, पुरातात्विक र शिक्षण संस्थाबाट दुई किलोमिटरको दूरीमा मात्र क्रसर उद्योग सञ्चालन गर्न पाइनेछ । नयाँ मापदण्ड कार्यान्वयनका लागि ७ सय ५३ वटै स्थानीय तहलाई निर्देशन दिइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । योसँगै वन, निकुञ्ज र आरक्ष क्षेत्र, घना बस्ती, अन्तर्राष्ट्रिय सीमाबाट समेत दुई किलोमिटर दूरीमा मात्र क्रसर उद्योग सञ्चालन गर्नुपर्नेछ ।
यस्तै चुरे पहाडको फेदीबाट एक हजार पाँच सय मिटरको दूरीमा क्रसर उद्योग सञ्चालन गर्नुपर्ने, त्यस्तै खोला नदी किनारबाट, पक्की पुल र राजमार्गको ‘राइट अफ वे’बाट पाँच सय मिटर दूरीमा मात्र उद्योग सञ्चालन गर्नुपर्ने ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी नयाँ मापदण्डमा उल्लेख छ । तर, काभ्रेको हकमा भने सरकारी मापदण्ड अनुसार धेरैजसो नभएको तर पैसा र पावरको भरमा क्रसर तथा खानी सञ्चालन हुदँै आएको छ । जिल्लामा ४५ हाराहारीमा खानी तथा क्रसर रहेपनि हाल ३१ सञ्चालनमा आएका छन् ।



















