धुलिखेलमा शुरु हुँदै राष्ट्रिय महिला हक्की प्रतियोगिता
काभ्रे । नेपाल हक्की संघको आयोजनामा छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता धुलिखेल खेल मैदानमा बैशाख १५ गतेदेखि १९ गतेसम्म हुने भएको छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हक्की संघको अध्यक्ष स्वस्तिक ब्याञ्जुले जानकारी दिए ।
धुलिखेलको खेल मैदानमा हुने प्रतियोगिताको ब्यवस्थापन हक्की संघ काभ्रेले गर्ने छ । धुलिखेल नगरपालिका, राष्ट्रिय खेलकुद परिषद् तथा धुलिखेलका विभिन्न होटल तथा अन्य संघ संस्थाहरुले प्रतियोगिताका लागि सहयोग गर्नेछन् ।
प्रतियोगितामा ५ वटा टिमका ९० खेलाडी सहभागि हुनेछन् । प्रति टिम खेलाडीका रुपमा १६ जना र दुई जना अफिसियल ब्यक्तिहरु सहभागि हुनेछन् । खेलाडी सहित प्रतियोगितामा गण्डकी, लुम्विनी, सुदुरपश्चिम, बागमती र नेपाल आर्मीका तर्फबाट १ सय २० जना सहभागि हुनेछन् ।
हक्की संघका केन्द्रिय अध्यक्ष अनिल शर्माका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख सहित ट्रफी सहित मेडल र प्रमाणपत्र, दोश्रो हुनेले ७५ हजार र तेश्रो हुने टिमले ५० हजार प्राप्त गर्ने जानकारी दिए ।
म्यान अफ म्याच हरेक खेलबाट छनौट गरिने साथै उक्त खेलाडीका लागि नगद ५ हजार रुपैया प्रदान गरिनेछ । त्यस्तै उदयिमान खेलाडी छनौट गरी नगद १० हजार सहित पुरस्कृत गरिनेछ । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता लगायतले पनि नगद १० हजार सहित पुरस्कार प्राप्त गर्नेछन् ।
धुलिखेलमा हुने प्रतियोगितका लागि हक्की संघ काभ्रेका अध्यक्ष स्वस्तिक ब्याञ्जु, उपाध्यक्षद्धय सुवास अधिकारी र विकास लामा, सचिव मनिष श्रेष्ठ सहितको जिल्लाको टिम ब्यवस्थापनमा सक्रिय भएको छ । विभिन्न खेल विद्यामा सक्रिय समाजसेवी निरज खड्का लगायतको टिमले खेलका लागि आवश्यक समन्वय गरिरहेका छन् ।