मंगलबार, बैशाख ०८, २०८३
मातातीर्थ औंसी अनि सम्झनामा मेरी आमा

चन्द्रमा जस्तै उजेली । हसिली अनि मिजासिली । माया र ममताकी खानी । उनै हुन् मेरी, आमा ।

आमा, कति प्रिय, कति गहकिलो अनि कति प्रेरणादायी छ यो शब्द। मेरो पहिलो प्रेम, मेरो जीवन, मेरो जिन्दगीको सुरुवात, मेरो जीवनको सबथोक तपाई नै हो, आमा । आमा शब्द आफैमा परिपूर्ण छ । ममताले भरिपूर्ण छ । खै तपाईको अरु बयान कसरी गरु ?

नौ महिना आफ्नो कोखमा राखेर प्रसव पीडा भोगेर सन्तानलाई संसार देखाउँछिन् आमाले। अनि आफ्ना दुःख पीडा, रोग, भोक, बिमारी केही नभनी सन्तानलाई हुर्काउँछिन्। आमा मायाकी खानी हुन्। आमाको मायाभन्दा ठूलो कुनै कुरा यो संसारमा छैन। ‘आमा’ शब्द यति प्रिय लाग्छ, आमाको बारेमा जति बयान गरे पनि कम हुन्छ।

आमाको सम्मानका लागि वर्षभरिका सबै दिन समान हुन्, तर नेपाली समाजमा आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनलाई अझ विशेष रूपमा लिइन्छ। यस दिन जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरिन्छ र आमाबाट आशीर्वाद लिइन्छ।

०००

आमा, आज तपाई साथमा नभए तपाईसँग जोडिएको हरेक पल, हरेक क्षण मेरो मनभरी छ, मेरो हृदयभरी छ । तपाईसँग बिताएका हरेक समय मेरो मनस्पटलमा अझै ताजा छ । तपाईलाई नसम्झेँको कुनै पल छैन । जति जति तपाईलाई सम्झन्छु, मेरो बालापनसँग जोडिएका मेरा यादहरुले सताउँछन् । ती यादहरुले मेरो मन भकानिन्छ । आँखाहरु यसै रसाउन थाल्छन् । अनि तपाईको हसिलो अनुहार आँखा अगाडी डुलिरहन्छन् । लाग्छ, तपाई मेरै सामु हुनुहुन्छ । बाबु भनेको झैँ तपाईको आवाजको स्पर्श गर्छु । तपाईको न्यानो काखमा मस्त निदाएको अनुभूति गर्छु । तर, यी सब मेरा कल्पना मात्रै हुन् ।

सबैकी आमा प्यारी भएजस्तै, मेरी आमा पनि प्यारी हुनुहुन्थ्यो । आमाको माया र ममताको व्याख्या गरेर कहिल्यै सकिदैन । अरुभन्दा धेरै फरक हुनुहुन्थ्यो, मेरी आमा । जति नै दुःख, जति नै पीडा भएपनि कहिल्यै बाहिर देखाउनु हुदैनथ्यो । चिन्ता गर्नु हुदैँन है भनेर बेला बेलामा हामीलाई सम्झाई बुझाई गर्नुहुन्थ्यो । त्यो समयमा आमाले परिवारको लागि गर्नुभएको दुःख मेरो मनस्पटलमा अहिले पनि गुमिरहेको छ । हाम्रो सानो परिवार थियो । दुःखसुख गरेर दैनिकी चल्थ्यो । कामको शिलशिलामा बुबा विदेशीनु भएपछि घरको सम्पूर्ण जिम्मेवारी आमाकै काँधमा थियो । बुबा विदेशिनु भएपनि हाम्रो स्याहारसुसारमा आमाले कुनै कमी हुन दिनुभएन ।

०००

आमाले जीवनमा धेरै संघर्ष गर्नुभयो । संघर्ष गर्दा गर्दै मेरी आमाको जीवन रित्तियो । रित्तियो आमाका अधुरा सपनाहरु । आमाले गर्नुभएको संघर्षको बारेमा लेख्नका लागि मेरा हातहरु थाक्दैनन् । मेरा शब्दहरु सकिदैनन् । मृत्युपश्चात मान्छे खरानी भएर कहाँ पुग्छ थाहा छैन । तर मेरी आमा मेरै मनमा हुनुहुन्छ । मेरै मस्तिष्कमा हुनुहुन्छ । मसँगै हुनुहुन्छ, मेरी आमा ।

आफ्नो सन्तानले प्रगतिको शिखर चुमेको हेर्ने हरेक आमाको सपना हुन्छ । तपाईको सपना साकार गर्न अघि बढ्दैछु, प्रयास गर्दैछु । तपाईको आर्शिवादको खाँचो छ मलाई। आमा, पक्कैपनि एकदिन तपाईको सपना साकार हुनेछ । तपाईलाई गर्वको महशुस गराउनेछु, यो मेरो वाचा भयो तपाईलाई ।

अन्त्यमा ,
तपाई मेरो साथमा नभए पनि सत्कर्म गरी तपाई जस्ता हजारौं आमाहरूको सदैव आशीर्वाद पाउन सकूँ । आशीर्वाद देऊ आमा, अर्को जन्ममा पनि तपाईंकै छोरा भएर जन्मन सकूँ, अनि अनेकौं मातातीर्थ औंसी तिम्रै साथमा मनाउन सकूँ ।

जय माता ! जय मातृभूमी !

०००

सिफारिस

ताजा समाचार

लोकप्रिय