काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १ गते दिउँसो ३ बजे नीति तथा कार्यक्रम ल्याउने निर्णय गरेको हो । आजको बैठकले एआईजीद्वय उमेश जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णयसमेत गरेको छ ।
त्यस्तै सरकारले विभिन्न खेलका खेलाडीलाई यसअघि घोषणा गरेको पुरस्कारको रकम निकास गर्ने निर्णय गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले पेस गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेसँगै १९औं एसियन गेम्समा पदक विजेता, क्रिकेट टिम र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकले नगद पुरस्कार पाउने भएका हुन् ।
गत नोभेम्बरमा घरेलु मैदानमा आईसीसी टी २० विश्वकप एसिया क्षेत्र फाइनलमा पुग्दै दोस्रो भएको नेपाल क्रिकेट टिमले कुल २ करोड ४ लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ । १५ खेलाडीले जनही १३ लाख, प्रमुख प्रशिक्षक मोन्टी देशाईले ३ लाख ९० हजार, टिम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेले जनही १ लाख ९५ हजार पाउनेछन् ।
त्यसैगरी सरकारले समाज कल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा सुनसरीका नन्दलाल माझीलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सिफारिस अनुसार सरकारले उक्त निर्णय गरेको हो ।



















