
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको १७औँ संस्करणमा शुक्रबार गुजरात टाइटन्सले बलियो प्रतिद्वन्द्वी चेन्नई सुपर किङ्सको सामना गर्दैछ । खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ ।
जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ५९औँ खेल हो । आईपीएलको १७औँ संस्करणमा चेन्नई र गुजरात दुबैले आफ्नो १२औँ खेल खेल्न लागेका हुन् । चेन्नईले यसअघि खेलिएको ११ मध्ये ६ खेलमा जित पाँच खेलमा हारको नतिजा निकालेको छ । चेन्नई १२ अंकसहित चौथो स्थानमा छ ।
गुजरातले भने निराशाजनक प्रदर्शन गर्दै आएको छ । गुजरातले यसअघि खेलिएको ११ मध्ये चार खेलमा जित र सात खेलमा हारको नतिजा निकालेको छ । गुजरात आठ अंकसहित तालिकाको सबैभन्दा तल अर्थात १०औँ स्थानमा छ ।
यद्दपि, गुजरात अझै प्राविधिक रुपमा उपाधि होडबाट भने बाहिरिएको छैन । अंक तालिकामा गुजरातभन्दा माथि रहेका मुम्बई इन्डियन्स र पञ्जाब किङ्स भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् ।
जारी सिजनको आईपीएलमा चेन्नई र गुजरातबिच भिडन्त हुन लागेको यो दोस्रो पटक हो । यसअघि खेलिएको पहिलो खेलमा चेन्नईले गुजरातलाई ६३ रनले हराएको थियो । उक्त खेल चेन्नईको घरेलु मैदानमा खेलिएको थियो ।