काभ्रेमा जेठ १३ देखि पोलियो बिरुद्धको खोप लगाईदै

काभ्रे । काभ्रे जिल्लाका १७ हजार बालबालिकालाई जेठ १३ गते देखि २६ गते सम्म पोलियो विरुद्धको खोप लगाइने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका अनुसार काभ्रेका २०७३ बैशाख देखि २०७५ असोज महिना भित्र जन्मिएका सबै बालबालिकाहरुलाई पोलियो विरुद्धको आईपिभि खोप लगाईने भएको हो ।

स्वास्थ्य कार्यालय प्रमुख रागी श्री कक्षपति श्रेष्ठका अनुसार काभ्रेले १३ वटै स्थानीय तहमा छुट भएका बालबालिकाहरुलाई खोप लगाउनको लागि सबैखाले तयारी पुरा गरिएको जानकारी दिए । उनका अनुसार २०७३ साल बैशाख देखि २०७५ साल असोज सम्म जन्म भएका बालवालिकाहरुलाई पोलियो विरुद्धको खोप दिने उल्लेख गरे ।

सुई बाट दिने पोलियो विरुद्धको खोप (आइपिभी) २०७३ जेठ देखि २०७५ भाद्रसम्म नेपालमा आपुर्ती बन्द भएको कारण उक्त उमेर समुहका बालबालिकालाई खोप लगाउने अभियान राखेको हो ।

जनस्वास्थ्य कार्यालय काभ्रेका खोप अधिकृत पार्थमणि न्यौपानेले काभ्रेमा १७ हजार ७५९ बालबालिकालाई खोप लगाइने जानकारी दिए । खोप अभियान जिल्ला भर संचालन हुने खोप केन्द्रका लागि २६१ खोपकर्मी र ५११ शिक्षकलाई अनुशिक्षण गरिएको छ ।

मुखबाट खुवाइने पोलियो विरुद्धको खोप (ओपीभि) को परिपुरकको रुपमा २०७१ असोजबाट नेपालमा सुईबाट लगाइने पोलियो विरुद्धको खोप (आइपीभि) लगाउन शुरु गरिएको थियो । पाँच बर्ष मुनिका बालबालिकालाई पोलियोको जोखिम बढी हुने र पोलियो लागेमा बालवालिकामा पक्षघातको जोखिम रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस