काभ्रेको पनौतीमा बन्दै गरेकोे सुविधा संपन्न नेपाल प्रहरी एकेडेमीको गृहमन्त्री रबि लामिछानेद्धारा निरिक्षण

काभ्रे । काभ्रे जिल्लाको पनौतीमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान ( पुलिस एकेडेमी) को निरिक्षण आइतावार उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछानेले गरेका छन् ।
निरिक्षण भ्रमणका क्रममा गृहमन्त्री लामिछानेले सुविधा संपन्न एकेडेमी निर्माणले प्रहरी उच्च मनोबल बढ्नुका साथै काम कारवाहीमा निक्कै प्रभाव पार्ने बताए । गृहमन्त्री लामिछानेले सिमित श्रोत साधनका बीच पनि नेपाल प्रहरीले गरेको कार्य आफैमा प्रशंसा योग्य रहेको बताउँदै प्रहरी फोर्सलाई राम्रो तालिम दिन श्रोतसाधनले सम्पन्न तालिम केन्द्र हुनुले पक्कै पनि प्रहरीको प्रस्तुतिमा प्रभाव पार्ने बिचार व्यक्त गरे ।
पनौती नगर नगरपालिका वडा नम्वर ६ मा ७ सय ३५ रोपनी जग्गामा भारतीय अनुदान सहयोगमा त्यहाँ १० अर्ब ५२ करोड रुपैयाँको लागतमा सुविधा सम्पन्न आधुनिक प्रहरी एकेडेमी निर्माण गर्न लागिएको हो ।
यस एकेडेमी निर्माणले सम्पूर्ण प्रहरी सेवालाई नै सकारात्मक प्रभाव पार्ने र त्यसको लाभ सिंगो देशले लिने उनको भनाई थियो ।
उनले निरिक्षणको क्रममा संचारकर्मीसंग कुरा गर्दै यो निर्माण सक्नका लागी केही समस्याहरु रहेको र ती समस्याहरु हल गरेर तोकिएकै समयमा सक्नका लागि नेपाल सरकारको तर्फबाट गर्नुपर्ने सबै काम गर्न कुनै कसर बाँकि नराख्ने प्रतिबद्धता ब्यक्त गरे।
भारत सरकारले छिटो भन्दा छिटो काम सम्पन्न गरेर बुझाउन चाहन्छ। त्यसमा हाम्रो तर्फबाट देखिएका केही अप्ठ्याराहरु भएकाले त्यसको विषयमा छलफल भएको छ, हाम्रोतर्फ बाट देखिएका अप्ठ्याराहरु हल गरेर यसलाई चाँडै संपन्न गरेर समयमै ह्याण्डओभर गर्ने गरी तयारी गर्ने उनको भनाई थियो ।