
काभ्रे । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खानीखोला गाउँपालिका गाउँपालिकाको केन्द्र ताल्ढुंगामा दुई घण्टा बिताएका छन् । काभ्रेको दक्षिणी भेगमा अवस्थित खानीखोला गाउँपालिकामा शुक्रबार आयोजित तीन कार्यक्रममा उपस्थित भएका मुख्यमन्त्री जम्कट्टेलले दुई घण्टा बिताएका हुन् ।
दुई घण्टामा उनले जनमुक्ति मार्गको ताल्ढुंगा सिक्रेदोभान झुरझुरे सडक खण्डको शिलान्यास गरे । सँगै खानीखोला गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास गरे । मुख्यमन्त्री जम्कट्टेलले स्थानीय उत्पादन खरिद बिक्री केन्द्रको समेत उद्घाटन गरे ।
कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले जनमुक्ति मार्ग दश वर्षे जनयुद्धको जनमुक्ति सेनाको इतिहाससँग जोडिएको मार्ग भएकाले यसलाई कुनै पनि हालतमा पूरा गर्ने बताए । मुख्यमन्त्री जम्कट्टेलले कार्यक्रममार्फत् जनाएका ५ प्रतिबद्धता निम्न छन् ।
१. जनमुक्ति मार्ग अब बन्छ ।
मुख्यमन्त्री जम्कट्टेलले जनमुक्ति मार्गको काम प्रदेश सरकारले कुनै पनि हालतमा सम्पन्न गर्ने बताए । उनले भने, “यो हिजोको महान् जनयुद्धसँग जोडिएको मार्ग हो, काभ्रेका दक्षिणी पहाडी भेगलाई विकाससँग जोड्नका लागि यो मार्गले टेवा पुर्याउँछ” उनले भने, “जनमुक्ति सेनाको आधार क्षेत्रसँग जोडिएको मार्ग भएकाले यो मार्ग निर्माण कार्यले जनमुक्ति सेनाको सम्मान गरेको छ ।”
२. ताल्ढुंगा खोपासी सडक अब प्रदेश सरकारले बनाउँछ ।
यसैगरी मुख्यमन्त्री जम्कट्टेलले ताल्ढुंगा खोपासी सडक अब प्रदेश सरकारले बनाउने प्रतिबद्धता जनाएका छन् । संघीय सरकारले बनाउँछ कि भन्ने आशामा रहँदा यो सडक बन्दै नबन्ने भएकाले यो सडक अब प्रदेश सरकारले नै बनाउने उनको भनाई थियो ।
प्रदेश सरकारले ९९ करोड रुपियाँ बजेट राखेर प्रदेशको समपुरकका लागि संघीय सरकार समक्ष सिफारिस गरेको भए पनि संघले त्यसलाई बजेटमा समावेश नगरेकाले अब यो सडक प्रदेशले नै बनाउने उनको तर्क थियो ।
उनले भने, “यो सडक नबन्न मेरो मन खिन्न भएको छ, यहाँको विकासका लािग खोपासी ताल्ढुंगा सडक बन्नैपर्ने सडक हो, यो सडक संघले बनाउँछ जस्तो लागेको छैन, अब यो सडक प्रदेश सरकारले बनाउँछ म यो प्रतिबद्धता व्यक्त गर्दछु ।”
३. खानीखोला करिडोर निर्माणमा प्रदेश सरकारको पूर्ण साथ रहन्छ ।
यसैगरी उनले खानीखोला करिडोर निर्माणमा प्रदेश सरकारको पूर्ण साथ रहने बताए । “अघिल्लो वर्ष खानीखोला करिडोरमा पैसा हाल्न छुट्दा गाउँपालिका अध्यक्ष छिन्ताङजी मसँग रिसाउनुभयो, चालु बजेटमा मैले यो कार्यक्रम राखेको छु ” उनले भने, “खानीखोला करिडोर पनि बनाउने नै हो, आउने बजेटमा पनि यो कार्यक्रम समावेश हुन्छ ।”
४. ताल्ढुंगा अब बागमती प्रदेशको उदीयमान सहर ।
यसैगरी मुख्यमन्त्री जमकट्टेलले ताल्ढुंगा अब बागमती प्रदेशको उदीयमान सहरको रुपमा विकास गर्ने बताए । प्रदेश सरकारले प्रदेशभित्रका ग्रामीण क्षेत्रलाई सहरको रुपमा विकास गर्ने प्रयत्न गरिरहेको बताउँदै यो कार्यक्रमलाई कुनै पनि हालतमा सफल पार्नुपर्ने बताए ।
उनले ताल्ढुंगालाई प्रदेशकै उदीयमान सहरको रुपमा विकास गर्ने काममा गाउँपालिकाले समेत पर्याप्त ध्यान दिएकोमा खुसी व्यक्त गरे ।
५. अब स्थानीय उत्पादनमा जोड्, समुदाय केन्द्रित कार्यक्रम ।
मुख्यमन्त्री जमकट्टेलले अब स्थानीय उत्पादनमा जोड दिनुपर्ने बताए । स्थानीय खरिद बिक्री केन्द्र स्थापना गरेर खानीखोलाले एउटा नयाँ सन्देश दिएको बताउँदै उनले भने, “हामीले अब समुदाय केन्द्रित स्थानीय उत्पादनमा जोड दिनुपर्छ, यसको लागि प्रदेश सरकारले पनि आफ्नो खालको योजना बनाएको छ ।”
र, अन्तिममा भने, “प्रदेश सरकार विकासको नेतृत्व गर्ने सरकार हो”
उनले प्रदेश सरकार विकास नेतृत्व गर्ने सरकार भएको समेत बताए । प्रदेश सरकारले विकसको मुल नेतृत्व गर्ने भएकाले प्रदेशको विशिष्टखालको महत्व रहेको उनको भनाई थियो । उनले संघीय सरकारले कानुन निर्माण गर्ने मात्रै काम गर्ने भएकाले प्रदेशले विकासको नेतृत्व गर्ने बताए ।
कार्यक्रममा संघीय सांसद् सुर्यमान दोङले डाँडापारि क्षेत्रको विकासका निम्ति आफूहरुबाट पर्याप्त पहलकदमी भएको बताए । प्रदेश सांसद तीर्थ लामाले खानीखोलाको विकासका निम्ति आफूले सकेको पहल गरिरहेको बताए ।
खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर थिङले खानीखोलाको मुहार अब फेर्ने चरण सुरु भएको बताए । महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले खानीखोलामा विकासको काम धमाधम सुरु भएकाले अब खानीखोला समृद्धिको यात्रामा अगाडि बढेको बताए ।