काभ्रे । नेकपा एमालेका जारी ११ औं जिल्ला अधिवेशनमा मतदान सकिएको छ । निर्वाचन समितिका संयोजक यज्ञराज पाण्डेले मतदान सकिएको जानकारी दिए ।
निर्वाचनमा ६ सय ७८ मत खसेको छ । जम्मा मतदाता संख्या ६ सय ८६ रहेको थियो । ८ जना अनुपस्थित रहेको बताइएको छ ।
आजै मत गणना थालिने निर्वाचन समितिका संयोजक पाण्डेले बताए । ‘मतदान सम्पन्न भएको छ । अब मुचुल्का उठाएर मत गणना थाल्छौँ ।’ संयोजक पाण्डेले भने ।
निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएकाले केहीबेरमै मत परिणाम आउने निर्वाचन समितिले जनाएको छ ।
एमाले काभ्रे जिल्ला कमिटीको ५ पदाधिकारीका लागि १२ जनाको उमेदवारी परेको छ । अध्यक्षमा चन्द्र बहादुर लामा र राजन भुर्तेल प्रतिस्पर्धामा छन् ।
उपाध्यक्षमा देव सागर लामा र आत्माराम थापा, सचिवमा राजकुमार सापकोटा र होम प्रसाद चौलागाईं, उपसचिव महिला तर्फ शान्ता न्यौपाने, सूर्यमाया दनुवार र पबित्रा भुर्तेल, उपसचिव पुरुष तर्फ पुरूषोत्तम अधिकारी, हरिकुमार मैनाली र रत्नकुश रंजितकार चुनावी प्रतिस्पर्धामा छन् ।
चन्द्र लामा समूहबाट उपाध्यक्षमा आत्माराम थापा, सचिवमा होम प्रसाद चौलागाई, महिला उपसचिवमा पवित्रा भुर्तेल र पुरुष उपसचिवमा पुरुषोत्तम अधिकारी रहेका छन् ।
त्यसैले भुर्तेल समूहबाट उपाध्यक्षमा देवसागर लामा, सचिवमा राजकुमार सापकोटा, उपसचिव महिला तर्फ सूर्यमाया दनुवार र पुरुष उपसचिवमा रत्नकुश रंजिकार हुन् ।



















