काभ्रे । जिल्लाको डाँडापारी खानीखोला गाउँपालिकाको सुकुमफेदी-तालढुङ्गा सडक खण्ड निर्माण गरिएको छ । गाउँपालिकाको वडा नंं ७ मा सडक निर्माण सकिएर ट्रयाक खुल्ला भए पछि उद्घाटन गरिएको हो ।
सुकुमफेदी-पाक्दोल-देउपाल-महांकाल र तालढुङ्गा सडक खण्डको निर्माण कार्य सकिएपछि मंगलबार गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ)ले उद्घाटन गरेका छन् । च्याम्राङवेसी हुँदै खजुली वेसी- पाक्दोल र देउपाल सडक खण्डको २०७० साल देखि निरन्तर प्रयास गरेर सडक १० बर्ष पछि ट्रयाक खुल्न सफल हो ।
संघीय सरकार, प्रदेश सरकार र गाउँपालिका सरकारले बिगत ३ बर्ष देखि सो सडक खण्ड निर्माण सम्पन्न गर्नको लागि प्रयास गरिएको थियो । प्रदेश सरकारले आर्थिक बर्ष ०७९/०८० मा विनियोजन गरेको रु २५ लाखले केही भाग खुलेको थियो । चालू आर्थिक बर्षमा रु ४८ लाख बिनियोजित बजेटले ट्रयाक खोल्न सफल भएको हो । सो सडक खण्डको लागि आर्थिक बर्ष ०८१/०८२ मा संघीय सरकारबाट रु १ करोड बजेट विनियोजन भएको छ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष थिङले समृद्धि, विकास र सुशासनका लागि ठूलो ऐतिहासिक अवसर आएको बताए । जनताले निर्वाचन मार्फत विश्वास गरेका छन्, सरकार विकास र सुशासनमा केन्द्रीत हुने संकल्प लिएको बताए । लामो समयको अथाह प्रयास पछि सडक खण्ड निर्माण सकिएर ट्रयाक खुल्ला भए पछि स्थानीयवासीले सरकारलाई धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रमका पालिका उपाध्यक्ष दोर्जेमान जिम्बा, प्रमुख प्रशासकीय अधिकृत जीवन गैर, प्राविधिक शाखा प्रमुख इन्जिनियर जीवन अर्याल र पुर्वधार बिकास संयोजक वडा न: ५ का अध्यक्ष बुद्धि बहादुर स्याङतान लगाएतको उपस्थितिमा ट्रयाक खुलेसंगै सडक अनुगमन गरि उदघाटन गरिएको थियो ।



















