घुम्नै पर्ने ‘बेथानचोक नारायणस्थान’
– सुरज श्रेष्ठ / काभ्रेपलाञ्चोक ।
जिल्लाको सबैभन्दाअग्लो ‘बेथानचोक नारायणस्थान डाँडा’ । काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका वडा नम्बर–३ मा पर्ने सो डाँडा एकातिर जिल्लाकै सबैभन्दा अग्लो स्थान मात्रै हैन धार्मिक दृष्टिकोणले पनि निक्कै महत्वपुर्ण छ । सो स्थानमा ऐतिहासिक धार्मिक नारायणको मन्दिर अवस्थित रहेको छ । यही कारणले बेथानचोक नारायणस्थान डाँडा निकै चर्चामा छ । बेथानचोक नारायणस्थान मन्दिर समुद्री सतहदेखि ३०१८ मिटर उचाइमा अवस्थित छ ।
बुढापाकाहरू भन्ने गर्छन्, ‘नमरी स्वर्ग देखिँदैन ।’ जुन ठाउँको वर्णन गरिएको छ त्यो ठाउँमा नगई कन त्यहाँको वातावरण बुझ्न सकिँदैन । स्वर्गीय आनन्द लिने त ज्यूँदै छँदा हो, साँच्ची नै बेथानचोक नारायणस्थान डाँडामा पुग्ने जो कोहीले पनि प्रकृतिको स्वर्गीय आनन्द भने अवश्य लिने छन् ।
भूगोलको हिसाबले निकै अग्लो रहेको सो ठाउँमा पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । हिमालका मनमोहक दृश्यसँगै तराईको समथर भू–भागदेखि जिल्लाका विभिन्न पालिकाको भौगोलिक अवस्थालाई नियाल्न समेत उपयुक्त रहेको सो ठाउँमा बेथानचोक गाउँपालिकाको ढुङ्खर्क बजारदेखि सात किलोमिटर माथि देउरालीसम्म सवारी साधनमा लेर जान सकिन्छ ।
त्यहाँबाट करिव ४५÷५० मिनेट अर्थात् दुई किलोमिटरको बाटो हिँडेर नारायणस्थान मन्दिरमा पुगिन्छ । पहिला÷पहिला नयाँ वर्षमा गोरेटो बाटो हिँडेर भक्तजन नारायणस्थान मन्दिरमा जाने गर्थे भने हाल उक्त मन्दिरसम्म पुग्ने पदयात्राका लागि रेलिङ सहितको राम्रो बाटो व्यवस्था भएकाले सहजै आउन जान सकिन्छ ।
हिउँदको समय, खुला आकाश, शान्त र मनोरम वातावरण, त्यससँगै नजिकैको जङ्गलबाट आउने चरचुरुङ्गीको सुमधुर आवाज सङ्गीतझैँ कानमा गुञ्जने गर्दा अर्को आनन्दको अनुभूति गर्न सकिन्छ । त्यस माथि वरिपरि हरियाली जङ्गलदेखि माथिको ठूलाठूला चट्टानले बनेको अग्लो खुला ठाउँ, जहाँ बस्न, रमाइलो गर्न समेत पर्याप्त ठाउँ भएकाले पनि पर्यटकको रोजाइमा बेथानचोक नारायणस्थान डाँडा गन्तव्य बनेको छ ।
बेथानचोक नारायणस्थान डाँडामा पुग्ने पर्यटकले भने “जीवनमा प्राकृतिक, धार्मिक र स्वस्थ हुनु छ, भने बेथानचोक नारायणस्थान रोज्नु उत्तम हुन्छ ।” जानका लागि खासै गाह्रो नभएको, धार्मिक र प्राकृतिक दृष्टिकोणले निकै महत्वपूर्ण रहेको नारायणस्थान डाँडा हरेक दृष्टिकोणले धेरै राम्रो लागेको घुम्न पुगेका टोलीको भनाइ छ । “धर्ममा आस्था राख्नेले नारायणको दर्शन गर्न पाउनु, प्रकृतिप्रेमी प्राकृितक सुन्दर दृश्यसँग एकाग्र हुन पाइने र मनोरञ्जन लिनका लागि उपयुक्त वातावरण भएकाले निकै सुन्दर छ”, पर्यटकहरुले भने ।
स्थानीय बासिन्दा बेदप्रसाद तिमल्सिनाका अनुसार नारायण मन्दिरको इतिहास धेरै पुरानो छ । भक्तपुरबाट भूपतीन्द्र मल्लको पालामा बेथानचोक नारायण भनेर आएको र सो क्रममा गाउँपालिका–३ को मसानघाटमा आएर बसेको किंवदन्ती छ । अहिले सो ठाउँलाई शिवालय भनिन्छ । “सो ठाउँको ठीक पारिपट्टि नेवार बस्ती रहेको र बिहान सबेरै कुखुरा कराउने, ढिकी–जाँतो चलाउने आवाजका कारण त्यहाँबाट बेथानचोक नारायणस्थान डाँडामा गएर बसेको भन्ने छ”, उनले भने, “मासु चाहिँ देख्नै हुँदैन भगवान् नारायणलाई । हिंसा मन नपर्ने भएकाले वरिपरि जाँड, रक्सी र मासु खाएर हो–हल्ला गर्नुहुँदैन ।”
दृश्यावलोकन सँगै शान्त र सुन्दर ठाउँ भएकाले पनि पर्यटक धेरै मात्रमा घुम्न आउने गरेको उनले बताए । पहिला मन्दिरको संरचना नै नभएका कारण विसं २०५६ मा राघवेन्द्र गुरुले त्यहाँ पुगेर मन्दिर स्थापित गर्नुका साथै कोटिहोम लगाएर थप व्यवस्थित गर्ने काम गरेको स्थानीय बासिन्दा बताउँछन् । विसं २०७६ मा भने भक्तपुरबाट इँटा ल्याएर गाउँपालिकाको आर्थिक सहयोग र स्थानीय जनसमुदायबाट श्रमदान गरी मन्दिर निर्माण गरेको तिमल्सिनाले बताए । विषेशगरी फागुन पूर्णिमामा मेलालाग्ने गरेको नारायणस्थान डाँडालाई थप व्यवस्थित गर्न आवश्यक रहेको स्थानीय बासिन्दाले बताए ।
बेथानचोक गाउँपालिका वडा नम्बर–३ का वडाअध्यक्ष कुबेर ढकालले पर्यटकको रोजाइमा परेको नारायणस्थान डाँडामा आन्तरिक पर्यटकको आवागमन निकै बढेको बताए । अहिले दैनिक दुई देखी चार सयसम्म पर्यटक आउने गरेको उनको भनाइ छ । पर्यटकको सङ्ख्यामा वृद्धिसँगै पालिले त्यहाँ जाने सिँढी बाटोको स्तरोन्नति, मन्दिरको जीर्णोद्धार गर्नुका साथै पर्यटकलाई बस्ने ठाउँको व्यवस्थापनमा लागेको उनले बताए । त्यसका लागि पालिकाले फोहर व्यवस्थापन कार्यविधि समेत निर्माण गरिसकेकाले अब सो क्षेत्रको सरसफाइ व्यवस्थापनको काम व्यवस्थित हुने उनको भनाइ छ ।
बेथानचोकको किंवदन्ती
भक्तपुरका मल्ल राजाको पालामा आफ्नो राज्यमा सङ्कट उत्पन्न भएपछि भगवान् नारायणलाई सम्झँदा भगवान् नारायणले आफू भक्तपुरबाट दक्षिणतर्फको सबैभन्दा अग्लो स्थानमा विराजमान भएको सन्देश दिएपछि मल्ल राजा भगवान् नारायणको खोजीगर्दै आउने क्रममा यसै स्थानमा विराजमान भएको पाएपछि यस स्थानको नाम बेथानचोक नारायणस्थान रहन गएको किंवदन्ती छ ।
काठमाडौँ टुँडिखेल स्थित माहाङ्काल मन्दिरमा रहेका देवतापनि सोही मन्दिरबाट ल्याइएको तर पटक–पटक फर्केर जाने गरेकाले सिक्रीले बाँधेर राखिएको किम्बन्ती छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र विन्दुका रूपमा रहेको बेथानचोक नारायणस्थान मन्दिरमा नयाँ वर्ष, जनै पूर्णिमा, फागु पूर्णिमामा विशेष मेला लाग्ने गर्दछ ।
बेथानचोक नारायणस्थान डाँडासम्म पुग्ने कसरी त ?
भूगोलको हिसाबले निकै अग्लो स्थानमा रहेको यो मन्दिर काठमाडौँ लगायतका बिभिन्न ठाउँदेखि ढुङ्खर्कसम्म बसमा सजिलै जान सकिन्छ । बेथानचोक गाउँपालिकाको ढुङ्खर्क बजारबाट करिब तीन घण्टा हिँडेरै नारायणस्थान मन्दिरमा पुग्न सकिन्छ । आफ्नै साधन हुनेहरू भने देउरालीमा साधन राखी करिब ४५ देखी ५० मिनेट पैदल हिँडेपछि डाँडामा पुग्न सक्छन् ।
बेथानचोक गाउँपालिकाको ढुङ्खर्कबाट पैदल हिँडेर तीन घण्टामा पुग्न सकिने नारायणस्थान डाँडाले भविष्यमा राम्रै पर्यटकीय गन्तव्य बन्ने सम्भावना बोकेको छ । वरिपरि स्टिलको बारले घेरी बिचबिचमा उभिएर दृश्यावलोकन गर्न सकिने बनाइएको यस ठाउँमा उभिएर हेर्दा वारिपारि छर्लङ्ग देखिने चट्टाने ढुङ्गा, कुनै सुगाको ठोँड जस्तो देखिने, कुनै पर्वत जस्तो देखिने तलतिर गाउँ बस्ती हेरिरहूँ जस्तो देखिन्छ ।
मन्दिर जाने बाटोमा विभिन्न प्रकारका लालीगुराँसले स्वागत गरेको पाइन्छ । उक्त मन्दिरमा जङ्गलै जङ्गलको बाटो हुँदै माथि डाँडोमा जानुपर्छ । छिनमै ड्याम्म तुवाँलाले ढाक्ने र छिनमै तुवाँलो हटेर छर्लङ्ग वारिपारि तलमाथिका रमणीय वनपाखा, बाटैभरि ढकमक्क फूलेका लालीगुराँस देख्दा त्यहाँ पुग्ने सम्पूर्ण पर्यटकको मन नै लोभिने गर्छ ।