काभ्रे । असार ५ गते मृत अवस्थामा भेटिएका तेमाल गाउँपालिका-७ चापाखोरीका टुल्कु लामाको हत्या भएको आरोपमा छोरा र साडुभाई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मृतक टुल्कु लामाका छोरा मिलन लामा र रोशी गाउँपालिका-९ का २६ वर्षीय अर्जुन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । अर्जुन मृतक टुल्लकुका साडुभाई हुन् ।
६५ वर्षीय टुल्कुको शव घरभन्दा ५० मिटर टाढा अमलाको रुखमा कपडाले बाटेको डोरीको पासो लगाई झुण्डिरहेको अवस्थामा फेला परेको थियो ।
शवको टाउकोको कन्चट, टाउको पछाडी अन्दाजी ३ ईन्च ठुलो घाउ र शरिरभरि ठुलो ठुलो घाउ चोट हुने गरी प्रत्यक्ष देखिएको थियो ।
मृत्यु रहस्यमय ढंगले भएको भन्दै मृतकका छोरा मिलनले जेठ १२ गते जाहेरी दिएका थिए । पक्राउ परेका दुबै जनालाई ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।



















