
काभ्रे । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा २०८१ असार २६ गते बनेपामा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२५ को अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
पूर्व-समिक्षा कार्यक्रममा इन्सेक प्रतिनिधिले संकलन गरेका व्यक्तिगत हत्या, बलात्कार, यौन दुव्र्यवहार, कुटपिटबाट घाइते, अभद्र व्यवहार, बाल विवाह, जातिय विभेद, आर्थिक अधिकार, घरेलु हिंसा र पत्रकारलाई धम्की दिएको समेत एकसय २९ वटा घटनाका विषयमा जानकारी दिइएको थियो ।
पूर्व समिक्षा कार्यक्रममा मानवअधिकार सञ्जाल काभ्रेपलाञ्चोकका संयोजक भोजराज तिमल्सिनाले विगत वर्षहरुको तुलनामा यस वर्ष व्यक्तिगत हत्या, वालिका बलात्कार र यौन दुव्र्यवहारका घटना बढेको बताए । अभिलेख भएका घटनाको अध्ययनबाट जिल्लाको बनेपामा सबैभन्दा बढी घटना, खानीखोला र बेथानचोक गाउँपालिकामा कम भएको पाइएबाट आर्थिक मन्दिको विषयलाई बढी ध्यान दिन जोड दिए ।
जिल्ला प्रहरी कार्यालय धुलिखेल महिला, बालवालिका तथा जेष्ठ नागरिक शाखाकी राजकुमारी श्रेष्ठले घरेलु हिंसाका घटनामा कमी आएको उल्लेख गरे ।
गैरसरकारी संस्था महासंघ काभ्रेकी अध्यक्ष गंगा दोेङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिनाले आर्थिक मन्दिका कारण समाजमा हिंसा र आत्महत्याका घटना बढेको उल्लेख गर्दै वित्तिय संस्थाहरुलाई अनुशासित र मर्यादित बनाउन आवश्यक भएको जोड दिए ।
कार्यक्रमको संचालन इन्सेक प्रतिनिधि सुमित्रा आचार्यले गरेकी हुन् । समिक्षा कार्यक्रममा १४ जना पुरुषसहित ३० जनाको सहभागिता थियो ।