काभ्रे। जिल्ला अदालत काभ्रेपलाञ्चोकले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यको ९६.६६ प्रतिशत मुद्दा फर्छ्याैट गरेको छ । गत आर्थिक वर्षमा २ हजार ४ मुद्दा फर्छ्याैटको लक्ष्य राखिएकोमा अदालतबाट १ हजार ९ सय ३७ अर्थात ९६ दशमलव ६६ प्रतिशत मुद्दा फर्छ्याैट भएको कार्यालयले पत्रकार सम्मेलन गरि जानकारी दिएकाे हाे ।
गत आर्थिक वर्षमा लगततर्फ १ हजार २ सय २८ पुरानो जिम्मेवारी सरेर आएका मुद्दा थिए भने २ हजार ६७ नयाँ मुद्दा दर्ता भएका थिए । नयाँ र पुरानाे गरि जम्मा ३ हजार २ सय ९५ मुद्दा रहेकाेमा १ हजार ९ सय ३७ फर्छ्याैट भएर १ हजार ३ सय ५८ मुद्दा फर्छ्याैट हुन बाँकी रहेकाे कार्यालयका श्रेस्तेदार कर्णबहादुर राईले जानकारी दिए ।
अदालतमा दर्ता भएका मुद्दा मध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा रहेकाे उनले बताए । अदालतले मुद्दाकाे प्रकृति हेरेर तीन वर्गमा मुद्दाकाे बाँडफाँट गर्दै सुनुवाइ गर्ने गरेकाे छ । जसमा सरल मार्ग, सामान्य मार्ग र विशेष मार्ग रहेका छन् । ६ महिनाभित्र सुनुवाइ गर्नु पर्ने सरल मार्गका मुद्दा हुन् भने १ वर्षभित्र र १८ महिनाभित्र सक्नु पर्ने मुद्दा सामान्य र विशेष अन्तर्गत पर्दछन् ।
अदालतमा सबैभन्दा बढी मुद्दा फर्छ्याैट न्यायाधिश राजेन्द्र नेपालले ७ सय ३६ वटा गरेका छन् । यस्तै न्यायाधिश विश्वनाथ भट्टराईले ६ सय ३ वटा, न्यायाधिश शिवकुमार पोखरेलले ४ सय ९, न्यायाधिश मोहनराज भट्टराईले ६६ र न्यायाधिश रिताकुमारी बख्रेलले १ सय २३ मुद्दा फर्छ्याैट गरेकी छन् ।
मुद्दा फर्छ्याैटकाे अवधिगत वर्गिकरण अन्तर्गत ६ महिनाभित्रका ५४३ वटा, ६ देखि १२ महिनाभित्रका ५८७ वटा, १२ देखि १८ महिनाभित्रका ४६८ वटा, २ वर्ष नाघेका २०९ वटा गरि जम्मा १ हजार ९३७ वटा मुद्दा फर्छ्याैट भएकाे जानकारी दिइएकाे छ । २०८० साउनदेखि ०८१ असारसम्मकाे कैद जरिवानाकाे समग्र प्रगति अन्तर्गत जरिवानातर्फ डाेरबाट असुल गरेकाे जरिवाना ५७ लाख ८८ हजार ५३२ छ । यस्तै प्रहरीबाट असुल गरेकाे जरिवाना ४४ लाख २६ हजार ९२२ छ भने अन्य तरिकाबाट ९ लाख ६३ हजार २९८ रहेकाे छ ।



















