मंगलबार, बैशाख ०८, २०८३
लोकप्रिय कथावाचक देवीलाई आफ्नै गृहनगरमा सम्मान र अभिनन्दन

काभ्रे । लोकप्रिय कथावाचक देवी प्रतिभालाई उनकै गृहनगर काभ्रेको मण्डनदेउपुरमा सम्मान र अभिनन्दन गरिएको छ । अध्यात्मिक कार्यबाट स्वदेश तथा विदेशमा प्रसिद्धि कमाएकी देवी प्रतिभा अर्थात प्रतिभा पराजुलीलाई आइतबार उनकै गृहनगरले भव्य स्वागत र सम्मान गरेको हो ।

उनलाई नगरप्रमुख टोकबहादुर वाइवा, उपप्रमुख विष्णुमणि नेपाल लगायतले नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच स्वागत र सम्मान गरेका हुन् ।

सम्मान कार्यक्रममा सम्मान ग्रहण गर्दै देवी प्रतिभाले आफू संसारका जहाँ पुगेपनि आफ्नो संस्कार र आफू जन्मिएको ठाउँलाई नभुल्ने बताइन् । आफ्नै नगरमा सम्मानित हुन पाउँदा निकै खुशी देखिएकी प्रतिभाले आफू अहिले जुन स्थानमा पुगियो, यो सबैको जस मण्डनदेउपुरका सबै दाजुभाईलाई जाने बताइन् ।

नगरप्रमुख वाइवाले मण्डनदेउपुरकी छोरी प्रतिभाले आफ्नो नगरको मात्र नभएर देशकै गौरव राख्न सफल भएको भन्दै उनका आगामी दिनहरुमा थप सफलताको कामना गरे । यस्तै उपप्रमुख विष्णुमणि नेपालले देवी प्रतिभा राष्ट्रको गौरव भएको चर्चा गर्दै उनका विगत र वर्तमानका बारेमा बताएका थिए । उनले प्रतिभा जस्ता व्यक्तित्वहरुलाई राज्यले नै उच्च सम्मान गर्नु पर्ने र नगरपालिकाले आगामी दिनमा पनि आफ्ना नगरभित्रका यस्ता प्रतिभाहरुको कदर गर्ने उल्लेख गरे ।

कार्यक्रममा देवी प्रतिभाका आफन्त लगायत सयौंको संख्यामा नगरवासीहरुको उपस्थिती थियो ।

मण्डनदेउपुर नगरपालिका वडा नम्बर–१० ज्वानेटारमा २०५८ पुस १८ गते जन्मिएकी प्रतिभा पराजुली विगत एक दशकदेखि भारतको बृन्दावनमा अध्ययनको शिलशीलामा पुगेकी थिइन् । त्यहाँबाटै उनले यस क्षेत्रमा पाइला चालेकी हुन् । सानैदेखि आध्यात्मिक सोचका साथ अघि बढेकी प्रतिभाले छोटो समयमै देशविदेशमा ख्याति कमाएकी छिन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय