मंगलबार, बैशाख ०८, २०८३
काभ्रेमा सुरू भयो उड्डयन व्यवस्थापनमा स्नातक तह

काभ्रे । नेपालमा पहिलोपटक उड्डयन व्यवस्थापन स्नातक तहको पढाइ हुने भएको छ । बनेपा स्थित काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट अन्तर्गत रहेर सिम्रिक भेन्चर र सिद्धार्थ वनस्थली इन्स्टिच्युटको संयुक्त कार्यक्रममा उड्डयन व्यवस्थापन स्नातक तहको पढाइ हुने भएको हो।

काठमाडौं विश्वविद्यालयको तालिका अनुसार पढाई सञ्चालन हुने र यसै सत्रदेखि भर्ना अभियान सुरु हुने भएको छ।

सिम्रिक भेन्चरका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले उड्डयनसम्बन्धी अध्ययनका लागि मुलुक बाहिर धाइराख्नुपर्ने बाध्यता यो वर्षबाट अन्त्य हुने बताए। आइतबार  बनेपामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले अब नेपालमै उड्डयनसम्बन्धी अध्ययन गर्न सकिने बताए।

‘गुणस्तरीय शिक्षाका लागि काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टअन्तर्गत रहेर सिम्रिक भेन्चर र सिद्धार्थ वनस्थली इन्स्टिच्युटको साझेदारीमा नेपालमै पहिलो पटक उड्डयन व्यवस्थापनमा स्नातक तह सुरु गर्न पाउनु सौभाग्यको कुरा हो,’ क्याप्टेन थापाले भने।

उड्डयन व्यवस्थापनको प्रस्तावित स्नातक चार वर्षको हुनेछ। जसले विद्यार्थीहरूलाई उड्डयन सञ्चालन, एयरलाइन्स र एयरपोर्टहरूलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सीप र ज्ञान प्रदान गर्दछ। कार्यक्रममा उड्डयन कानुन र नियमहरू, उड्डयन सुरक्षा, एयरपोर्ट योजना र व्यवस्थापन, एयरलाइन अपरेसनहरू, उड्डयन र अर्थशास्त्र, उड्डयन मार्केटिङ, पर्यटकीय महत्त्व र मानव संसाधन व्यवस्थापन सहितका पाठ्यक्रम रहनेछन्।

काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले विश्वविद्यालयको विस्तारित कार्यक्रम अन्तर्गत उड्डयन व्यवस्थापन स्नातक तह अब सुरु हुने बताए। प्राविधिक धारबाट सुरु भएको विश्व विद्यालयले युवाहरूको चाहनाअनुसारको उच्च शिक्षा दिने कार्यमा जोड दिएको उनको भनाइ छ ।

विद्यार्थीहरूले जटिल परिस्थितिहरु कसरी व्यवस्थापन गर्ने, दबाबमा काम गर्ने र विभिन्न सरोकारवालाहरूसँग प्रभावकारीरूपमा कुराकानी गर्ने तरिका सिक्ने उनले बताए।

त्यस्तै विभाग प्रमुख राजन थापाले उड्डयन व्यवस्थापन स्नातकको माध्यमबाट इच्छुक विद्यार्थीलाई सशक्त बनाई विश्व उड्डयन उद्योग र यसको दिगो विकासका लागि आवश्यक ज्ञान, सीप र नैतिक आधारले सुसज्जित बनाउनु यस क्याम्पसको प्रमुख उद्देश्य रहेको बताए।

नेपाल पर्यटन बोर्डको बोर्डका सदस्य प्रदीपराज पाण्डे, हिमालयन एयरलायन्सका विजय श्रेष्ठ, काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार अच्युत वाग्ले, डीन विजय केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए।

सिफारिस

ताजा समाचार

लोकप्रिय