आज साउन १५ । नेपालमा आजको दिनलाई खीर खाने पर्वका रूपमा मनाइन्छ । धेरैले खीर पकाएको र खाएको तस्बीर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । नेपालीले रुचाउने परिकारभित्र पर्छ खीर । दूध र चामलबाट बनाइने यो गुलियो परिकार पकाउन भने ढंग पुर्याउनैपर्छ । ढंग नपुगे परिश्रम मात्रै खेर जान्छ । ‘दूधमा चामल हाल्ने त हो नि’ भनेर सोच्छन् धेरैले । तर, स्वादिलो खीर बनाउन त्यति सजिलो छैन ।
यहाँ हामी मिठो खीर पकाउनका लागि तपाईंलाई आवश्यक टिप्स दिन गइरहेका छौंः
आवश्यक सामाग्री
चामल, दूध, चिनी, तेजपत्ता, काजु, बदाम, किसमिस, सुकेको नरिवलको टुक्रा, दालचिनी, पकाउनका लागि बाक्लो भाडो
पकाउने तरिका
खीर बनाउनुपूर्व नै चामललाई आधा घण्टाभन्दा बढी समय भिजाउनु पर्छ । भिजेको चामलमा खीर पकाउँदा बढी स्वादिष्ट हुन्छ । खीरका लागि चामल जुनसुकै भए पनि भए पनि हुन्छ । तर, पुरानो चामलभन्दा नयाँ चामलको खीर बढी मीठो हुने गर्छ ।
यदि तपाईं अलि पुरानो विधिबाट खीर पकाउन चाहनुहुन्छ भने घरमा मिलमा कुटाएको चामललाई घ्यूमा मोलेर पनि केहीबेर राख्न सक्नु हुन्छ । र, त्यो चामललाई खीरमा प्रयोग गर्न सक्नुहुन्छ ।
खीर पकाउने भाँडो चाहिँ बाक्लो हुनुपर्छ । पातलो भाँडोमा खीर पकाउँदा डढ्ने समस्या हुनसक्छ । खीर पकाउनुअघि चामलभन्दा डेढतिहाई पानी उमाल्नुस् र त्यो पानीमा केहीबेर चामललाई पकाउनुस् । थोरै पाकेको चामलमा सबै दूध हाल्नुस् र चलाउन थाल्नुस् । यसरी खीरलाई चलाउँदा दूध उम्लेर माथि आउने गर्छ । यो बेलामा आगोको ज्वाला कम गर्ने र खीर बाक्लो नहुन्जेलसम्म चलाइराख्नुपर्छ । अर्को तरिकाले उम्लेको दूधमा सीधै भिजाएको चामल पनि हाल्न सकिन्छ ।
चामलमा दूध निकै घटेर खीर बाक्लो हुँदै गएपछि तेजपत्ता हाल्नुस । तेजपत्ताले खीरको स्वादलाई बास्नादार बनाउँछ । खीर बाक्लो हुँदै आएपछि यसमा चिनी राख्नुस् र, मजाले चलाउनुस् । खीर पकाउँदा शुरूमै चिनी राख्नु हुँदैन । शुरूमा चिनी राखियो भने खीर डढ्न सक्छ ।
चिनी हलिसकेपछि पहिल्यै राखिएको तेजपत्तालाई निकालिदिनुस् । अब खीरलाई अझ बास्नादार र स्वादिष्ट बनाउनका लागि अलैंचीको धुलो, बदाम, काजु, नरिवलको टुक्रालगायतका सामग्री हालिदिनुस् र, राम्ररी चलाउनुस् ।
एकछिन पुनः खीर पाक्नलाई छोडिदिनुस् । अब खीर बाक्लो भएर राम्ररी पाकेपछि त्यसमा एक चम्चा घ्यू हालेर राम्ररी चलाइदिनुस् । यति गरिसकेपछि खीर खानका लागि तयार हुन्छ । अब ग्यासको फ्लेमलाई बन्द गर्नुहोस् । अनि तातो-तातो खीर सर्भ गर्न सक्नुहुन्छ ।



















