काभ्रेमा विद्युत् ट्रान्सफर्मर चोर्ने गिरोह पक्राउ
काभ्रे । जिल्लाको विभिन्न स्थानमा विद्युत् ट्रान्सफर्मरमा रहेको तामाको तार चोरी गर्ने एक संगठित गिरोह पक्राउ परेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे प्रहरीले विभिन्न स्थानमा जडान गरिएका ट्रान्सफर्मरहरूमा भइरहेको तार चोरीको सूचना प्राप्त भएपछि विशेष टोली परिचालन गरेर यस गिरोहलाई नियन्त्रणमा लिएको बताएको छ ।
प्रहरी चौकी भकुण्डेवेशी र ईलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको टोलीले चोरीमा संलग्न ७ जनालाई प्रारम्भिक सोधपुछपछि नियन्त्रणमा लिएको थियो। प्रारम्भिक अनुसन्धानले चोरी गरिएका तामाका तारहरू भक्तपुरका विभिन्न कवाडी पसलमा बेचेर प्राप्त रकम गिरोहका सदस्यहरूले आपसमा बाँड्ने गरेको खुलासा भएको छ।
अनुसन्धानका क्रममा, प्रहरी वृत्त जगाती, भक्तपुरको संयुक्त टोलीले गिरोहका थप ३ सदस्यलाई समेत पक्राउ गरी, विभिन्न कवाडी पसलहरूमा खानतलासी गरेर चोरीको प्रमाणको रूपमा तामाका तारलगायतका सामानहरू बरामद गरेको छ।
अनुसन्धानले गिरोहका सदस्यहरूले कवाडी सामान संकलन गर्ने निहुँमा विभिन्न स्थानमा ट्रान्सफर्मरको अवस्थिति पत्ता लगाउने, र रातको समयमा ट्रान्सफर्मर फोडेर तामाका तारहरू चोरी गर्ने योजना बनाउने गरेको पाइएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा काभ्रेका विष्णुबहादुर सार्की, दोलखाका २२ बर्षका पल्हाद बस्नेत, सिन्धुपाल्चोकका २२ बर्षका सन्तोष बिक, दोलखाका ३० बर्षका दिकुल खत्री छन् । त्यस्तै दोलखाका २१ बर्षका प्रविन बस्नेत, सिन्धुपाल्चोकका ४२ बर्षका राजेश विक, दोलखाका २७ बर्षका सुनिल बस्नेत, दोलखाकै २४ बर्षका जगन्नाथ बस्नेत र सिन्धुपाल्चोकका २४ बर्षका प्रेम मिजार छन् । प्रहरीले चोरीमा संम्लग्न बा १ ज ८७३४ नंम्बरको ट्याक्सी नियन्त्रणमा लिएको छ ।