आगामी एसइईमा ७० प्रतिशत विद्यार्थी उत्तिर्ण हुने गरी काम थालेका छौँ : प्रधानमन्त्री ओली
काभ्रे। प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को आउँदो एसइई परीक्षामा ७० प्रतिशतसम्म विद्यार्थी उत्तिर्ण हुने गरी देशभर अनलाइनबाट शिक्षा सञ्चालनको घोषणा गरेका छन् ।
काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अङ्ग्रेजी, गणित, विज्ञान लगायत मुख्य विषयमा केन्द्र सरकारका तर्फबाट अनलाइनका माध्यमबाट विशेष कक्षा चलाउन सम्बन्धित निकायलाई भनिसकेको बताए ।
पचास प्रतिशतको हाराहारीमा मात्रै एसइईमा उत्तिर्ण हुनुु विद्यार्थीमाथिको चरम अन्याय हो । यस्तो अवस्थालाई अन्त्य गर्न शिक्षा मन्त्रालय, नेपाल टेलिकम लगायत निकायलाई आवश्यक प्रबन्धका लागि कुरा भईसकेको बताए । प्रधानमन्त्री ओलीले विद्यार्थीले आफै राम्रो लेखेर धेरै उत्तिर्ण गराउने गरी काम थालिसकेका बताए । उनले सरकार देशको समृद्धि र समग्र शिक्षाको सुदृढीकरणका लागि आगामी दिनमा थप स्पष्ट र दृढताकासाथ अघि बढ्ने पनि स्पष्ट पारे ।
समारोहमा स्नातकोत्तर तहमा स्कुल अफ आर्टसमा ४ सीजीपीए ल्याउने छात्रा मिजला चित्रकारलाई चान्सलर स्वर्णपदक, स्कुल अफ साईन्सबाट स्नातक तहमा ४ सीजीपीए ल्याउने मुकेश तिवारीलाई भाइस चान्सलर स्वर्णपदक प्रदान गरिएको छ ।
त्यस्तै भाइस चान्सलर स्वर्णपदक स्नातक तहमा मनिपाल कलेज अफ मेडिकल साइन्स, पोखराका स्वीकार दाहाल, न्हुछेरत्न तुलाधर स्वर्णपदक विराट मेडिकल कलेज विराटनगर, रस्मिता पौडेल, रमेशप्रसाद सिंह स्वर्णपदक स्कुल अफ मेकिडल साइन्सेज अर्जुन दासलाई र स्कुल अफ एजुकेशनबाट महेशनाथ पराजुली स्वर्णपदक सुश्री रनिषा पौडेललाई प्रदान गरिएको छ ।
विश्वविद्यालयबाट हालसम्म ४५ हजार ४ सय ३७ जना उर्तीण भएका छन् । सभामा कुलपति प्रधानमन्त्री ओली, प्रमुख अतिथि संस्कृतविद् डा. जगमान गुरूङ्ग, सह-कुलपति शिक्षामन्त्री विद्या भट्टराई लगायत सहभागी थिए ।