बनेपा महोत्सव – २०८१ (पाँचौं संस्करण) असोज ९ गतेदेखि २४ गतेसम्म हुने
काभ्रे । ‘हाम्रो अभियान खेलको शान, संस्कृति र समृद्धि बनेपाको पहिचान’ भन्ने नाराका साथ बनेपा ब्वाइज क्लब (बि.बि.सी)द्वारा आयोजना हुन लागेको बनेपा महोत्सव २०८१ पाँचौ संस्करण असोज ९ गतेदेखि २४ गतेसम्म हुने भएको छ ।
बनेपामा आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला प्रबद्र्धन, खेलकूद विकास गर्ने उद्देश्यले बनेपा नगरपालिका वडा नम्बर ७ स्थित उग्रेश्वर महादेव मन्दिर परिसरमा मेलाको आयोजना गर्न लागिएको आज पत्रकार सम्मेलन मार्फत क्लबका अध्यक्ष महेश कर्माचार्यले जानकारी दिए । उनका अनुसार उक्त मेलामा कृषि, घरेलु सामग्री लगायतका करिब एक सय वटा प्रदर्शनी कक्ष रहनेछन् ।
मेलामा बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यानको व्यवस्थापन गरी मेला अवधिभर प्रत्येक दिन राष्ट्रिय कलाकारको सहभागिता गराई साँस्कृतिका कार्यक्रमसमेत गरिने जनाइएको छ । मेलामा खेल प्रतिस्पर्धा, धिमे बाजा प्रतियोगिता, खुल्ला नृत्य तथा गायन, मार्सल आर्ट तथा ऐतिहासिक बनेपासम्बन्धी विभिन्न प्रतियोगिता सञ्चालन गरिनेछ । मेलाको व्यवस्थापनको तयारी सुरु भइसकेको कर्माचार्यले बताए ।
मेलामा स्थानीय कला, संस्कृति झल्कने झाँकी प्रदर्शन, बाजागाजा, मौलिक नाच प्रदर्शन गरिने छ । मेला सम्पन्न गर्न विभिन्न समिति निर्माण गरिने तयारी भएको क्लबले जनाएको छ ।