बनेपा महोत्सव-२०८१ को मिति सर्यो: अब कहिले ?
काभ्रे । जिल्लाको बनेपामा हुने भनिएको बनेपा महोत्सव-२०८१ को मिती सारिएको छ । बनेपा ब्वाइज क्लबद्वारा आयोजना हुन लागेको ‘बनेपा महोत्सव–२०८१ पाँचौँ संस्करण’ आउँदो असोज ९ गतेदेखि २४ गते सम्म आयोजना हुने भनिएको महोत्सवको मिती अब असोज ४ गतेदेखि १९ गते सम्म हुने भएको छ ।
बनेपामा व्यापार गर्ने व्यापारीहरुको महोत्सवको बिरोध गरेपछि स्थानीय व्यापारीहरु, काभ्रे उद्योग बाणिज्य सघ, बनेपा ब्वाइज क्लबका प्रतिनिधिहरुको छलफलले महोत्सव मिती अगाडी सारेर गर्ने भएको बनेपा महोत्सव संयोजक महेश कर्मचार्यले जानकारी दिए । छलफलमा अब आगामी बर्षहरुमा चाडपर्व पारेर महोत्सव आयोजना नगर्ने समेत सहमति भएको जानकारी दिए ।
बनेपामा आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला प्रबद्र्धन, खेलकूद विकास गर्ने उद्देश्यले बनेपा नगरपालिका स्थित उग्रेश्वर महदेव मन्दिर परिसरमा मेलाको आयोजना गर्न लागिएको क्लबका अध्यक्ष महेश कर्माचार्यले जानकारी दिए । उनका अनुसार उक्त मेलामा कृषि, घरेलु सामग्रीलगायतका करिब एक सय वटा प्रदर्शनी कक्ष रहनेछन् ।
मेलामा बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यानको व्यवस्थापन गरी मेला अवधिभर प्रत्येक दिन राष्ट्रिय कलाकारको सहभागिता गराई साँस्कृतिका कार्यक्रमसमेत गरिने जनाइएको छ । मेलामा खेल प्रतिस्पर्धा, खुल्ला नृत्य तथा गायन, मार्सल आर्ट तथा ऐतिहासिक बनेपासम्बन्धी विभिन्न प्रतियोगिता सञ्चालन गरिनेछ । मेलाको व्यवस्थापनको तयारी सुरु भइसकेको कर्माचार्यले बताए ।
मेलामा स्थानीय कला, संस्कृति झल्कने झाँकी प्रदर्शन, बाजागाजा, मौलिक नाच प्रदर्शन गरिने छ । मेला सम्पन्न गर्न विभिन्न समिति निर्माण गरिने तयारी भएको क्लबले जनाएको छ ।