काभ्रे । गौरीशंंकर साना किसान कृषि सहकारी सस्था लिमिटेडको १३ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्री प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
मन्त्री श्रेष्ठले काभ्रेको शंखुलाई बागमती प्रदेश सरकारले सुन्तला पकेट क्षेत्र घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरे । कृषि तथा फलफुलमा आत्मनिर्भर बनाउने बागमती सरकारको अभियान अनुसार भौगोलिक बनावट, यहाँका किसानको खेतीप्रतिको लगाव र बागमती प्रदेशमा रहेको बजारको उच्च मागलाई ध्यानमा राखेर वडाको अनुरोध, नगरको सिफारिसको आधारमा सुन्तलाको पकेट क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरे ।
कूल जनसंख्याको ४० प्रतिशत मानिस बसोबास गर्ने भएकाले आफ्नो प्रदेशमा बजारको कुनै पनि समस्या नरहेको बताउँदै मन्त्री श्रेष्ठले जग्गा बाँझो नराख्ने अभियान बोकेको बताए । गौरीशंकर साना किसान कृषि सहकारीले आफूलाई किसानको असली साथी बनाएको उल्लेख गरे ।
बरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले किसान हाम्रो शान भएपनि किसानले आफ्नो उत्पादनको राम्रो मूल्य पाउन नसकेको बताए । उनले सरकारले किसानको उत्पादनलाई बजारीकरणमा सहयोग गर्न अनुरोध गरे । कृषि नै नेपालको प्रमुख आर्थिक श्रोत भएपनि त्यसको व्यवस्थापनमा चुकेको उनले बताए ।
सहकारीका अध्यक्ष सिताराम भट्टराईले एक बर्षमा सहकारीले गरेको उन्नतीको प्रतिवेदन पेस गरे । धुलिखेल नगरपालिकाको वडा नं ९, १०, ११ र १२, पनौती नगरपालिकाको ९ र १० तथा नमोबुद्ध नगरपालिकाको वडा नं १ र ११ मा कार्यक्षेत्र रहेको सहकारीमा एक हजार ६६१ सदस्य रहेको जानकारी दिए ।
धुलिखेल-१२ का वडाअध्यक्ष मोहन लामिछानेले बागमती प्रदेश सरकारले सुन्तला पकेट क्षेत्रका लागि गरेको प्रतिबद्धता अनुसार अघि बढ्ने जानकारी दिए । उनले आफ्नो क्षेत्रको समस्या समाधान गराउन मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण समेत गराए । सहकारीकर्मी माधव श्रेष्ठले शंखुमा सहकारीले त्यहाँका नागरिकको आयस्तर उकास्नमा सहयोगी भुमिका खेलेको बताए । उत्कृष्ट धितो ऋण कारोबार गर्ने बिमला तामाङ, बचतकर्ता गिता श्रेष्ठ र समुह जमानी ऋण मानकुमारी तामाङलाई सम्मान गरिएको थियो ।
सुर्वण श्रेष्ठको नेतृत्वमा नयाँ समिति
सहकारीको १३ औं साधारण सभाले सुर्वण श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । शनिबार भएको बन्द सत्रको निर्वाचन प्रकृयाले श्रेष्ठको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रमिता पौडेल चयन हुनुभएको छ ।
समितिको चन्द्रमान तामाङ, पवित्रा सत्याल, विन्दा पाण्डे, श्यामकृष्ण श्रेष्ठ, दुर्गा भण्डारी, सन्चरानी तामाङ, काजीबहादुर तामाङ, मानजीत तामाङ, विशाल तामाङ, सविता तामाङ र गणेश तामाङ रहनु भएको छ ।
त्यस्तै, शिवप्रसाद आचार्यको संयोजकत्वमा नरहरि कुँवर र स्वस्ती बज्राचार्यलाई सदस्यमा चयन गरेको हो । अध्यक्षमा निर्वाचित श्रेष्ठले साना किसान कृषि सहकारीको मूल्य मान्यतालाई आत्मसाथ गर्दै उहाँहरुको आवश्यकता अनुसारको कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।





















