काभ्रे । जिल्लाका तीन कार्यालयले आर्थिक बर्ष २०८१/८२ मा सञ्चालन हुने कार्यक्रम र त्यसको बजेटबारे सरोकारवालाई जानकारी गराएको छ । सोमबार धुलिखेलमा आयोजित कार्यक्रममा कृषि विकास कार्यालय, पशु सेवा कार्यालय र बागवानी विकास केन्द्रले आर्थिक बर्ष २०८०/८१ मा सञ्चालन गरेका कार्यक्रमको समिक्षाका साथै आर्थिक बर्ष २०८१/८२ का बार्षिक कार्यक्रम सार्वजनिक गरिएको हो ।
कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले चालु आर्थिक बर्षमा ८ करोड ८१ लाख बराबरको कृषि प्रवद्र्धन र विकासका साथै प्रविधी प्रसार र समन्वयनका काम गरिने बताए । संघीय सशर्तका साथै साझेदार निकायका विभिन्न कार्यक्रम पनि सञ्चालन हुने उनले जानकारी दिए । पशु सेवा कार्यालय काभ्रेका प्रमुख डा. निशान्त शर्मा गेलालले चालु आर्थिक बर्षको लागि ७ करोड ३६ लाख कुल बजेट रहेको जानकारी दिए ।
बागवानी विकास केन्द्र, पाँचखालका प्रमुख विष्णु बोगटीले आर्थिक बर्ष २०८०/८१ मा भएका कामको समिक्षा गर्दै चालु आर्थिक बर्षमा गर्ने कार्यक्रमबारे जानकारी गराएका थिए । कार्यक्रममा वाग्मती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले कृषि अनुदान दुरुपयोग रोक्नको लागि स्थानीय तहका उपप्रमुख र वडाअध्यक्षलाई अनुगमनको अधिकार दिने गरी कार्यविधी संशोधन गर्न लागिएको जानकारी दिए ।
प्रदेश सरकारले सबै स्थानीय तहमा हाटबजार सञ्चालन गर्ने नीति लिएको उनले जानकारी दिए । संविधानमा भएका साझा अधिकारका केही बिषयमा केही समस्या भएको भन्दै उनले स्थानीय तहसंग समन्वय गरेर कृषिका नीति, कार्यक्रम र बजेट ल्याउने प्रतिवद्धता जनाए । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले कृषिबाट मात्रै समृद्धी सम्भव छैन भन्ने बहस हुन थालेको भन्दै कृषिका नीति, कार्यक्रम र बजेट पुनर्विचार गर्नुपर्ने बताए ।
उक्त कार्यक्रममा बनेपा नगर प्रमुख शान्तीरत्न शाक्य, जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादुर तामाङ, भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल, पनौती नगरपालिका उपप्रमुख गिता वञ्जारा र पाँचखाल नगर उपप्रमुख सुर्यमाया दनुवार लगाएतको उपस्थिति रहेको थियो ।



















