काभ्रेको धुलिखेलमा असोज ५ गते बी.पीको प्रतिमा अनावरण हुने
काभ्रे । असोज ५ गते शनिवार धुलिखेलमा नेपाली काँग्रेस नेता बीपी कोइरालाको प्रतिमा अनावरण गरिने भएको छ । बुधबार नेपाली काँग्रेस काभ्रेको पार्टी कार्यालय बनेपामा भएको पत्रकार सम्मेलनमा बीपीको प्रतिमा अनावरण गर्न पार्टीको केन्द्रिय सभापती धुलिखेल आउने जिल्ला सभापती तिर्थ लामाले जानकारी दिए ।
बीपीको प्रतिमा अनावरण गरेर धुलिखेल नगर सभाहलमा कार्यक्रम हुने लामाले पत्रकार सम्मेलनमा जानकारी दिए । कोइरालाको प्रतिमा निर्माण समिति र नेपाली कांग्रेस धुलिखेल नगर समितिले धुलिखेल नगरपालिका-६, जरणडाँडास्थित हस्पिटल चोकमा प्रतिमा स्थापना गरिएको हो ।
प्रतिमा १५ लाख लागतमा निर्माण गरिएको समितिले जनाएको छ । नेपाली काँग्रेसको नेता देखि कार्यकर्ताहरुको आर्थिक सहयोगमा प्रतिमा निर्माण गर्न सफल भएको जिल्ला सभापती लामाले जानकारी दिए । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको परिकल्पनामा २०१६ सालमा शुरुवात भएको बीपी राजमार्ग निर्माण प्रधानमन्त्री कोइराला अपदस्थ गरी २०१७ सालमा पञ्चायती व्यवस्था लागू भएपछि सफल हुन सकेको थिएन ।
नेपाली कांग्रेसका तत्कालिन सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५२ सालमा जापान सरकारको सहयोगमा पुनःशुरुवात गरेपछि उक्त सडक निर्माणकार्यले सार्थकता पाएको हो । नेपाली कांग्रेसका तत्कालिन सभापति शुशिल कोइराला प्रधानमन्त्री भएको बेला २०७२ सालमा उक्त सडक निर्माण सम्पन्न भई नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।