दुई दल मिलेर सरकार बनाउँदा सकरात्मक सन्देश गएको छ: सभापति देउवा

काभ्रे । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा सकारात्मक सन्देश गएको बताएका छन् । जिल्लाको धुलिखेलमा कांग्रेसका संस्थापक नेता बि.पी कोइरालाको पूर्णकदको शालिक अनावरण कार्यक्रममा बोल्दै उनले दुई दल मिलेर सरकार बनाउनुलाई नागरिकले दिगो हुने विश्वास लिएका बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले महामानव बि.पी कोइरालाले देखाएको बाटो कांग्रेसका लागि सधैं प्रेरणादायी रहने भन्दै आम कांग्रेसजनले उनका सिद्धान्तलाई कहिल्यै भुल्न नहुने बताए । बि.पी कोइरालाले देखेको सपना अनुसार निर्माण भएको बिपी राजमार्गले पूर्वी नेपाललाई काठमाडौंसम्म जोड्ने छोटो मार्गको काम गरेको उनको भनाइ थियो ।

अग्रज नेताहरुले छोडेर गएका अधुरा कामहरु पूरा गर्ने जिम्मेवारी अब पछिल्लो पुस्ताको काँधमा आएको बताउँदै देउवाले अप्ठ्याराहरुलाई पन्छाउँदै अघि बढ्नुपर्नेमा जोड दिए । उनले जनताका कामहरुमा सबैले जिम्मेवारीपूर्णरुपमा कर्तव्य पूरा गरेर जानुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री एवं बिपी पुत्र शशांक कोइरालाले पार्टीमा युवापुस्तालाई स्थान दिनुपर्ने आवश्यकता औंल्याए । अहिले देशमा जे जे विकास भएका छन् ती सबैमा कांग्रेसको ठूलो योगदान रहेको बताउँदै कोइरालाले युवाहरु विदेश गएर होइन, स्वदेशमै काम गरेर देश विकास गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, शिवप्रसाद हुमागाई, मधुप्रसाद आचार्य, गणेश लामा, वाग्मती प्रदेशका महामन्त्री कञ्चनचन्द्र वादे, नेपाली कांग्रेस काभ्रेका सभापति एवं वाग्मती प्रदेशका पूर्व मन्त्री तीर्थ लामा, उपसभापति रमेशप्रसाद हुमागाई, महासमिति सदस्य जितेन्द्रमान तामाङ (दावा लामा), महाधिवेशन प्रतिनिधि मन्जु शाह ठकुरी, जिल्ला सदस्य सनिता न्यौपाने बजगाई, नेपाल विद्यार्थी संघ काभ्रेका सभापति अन्जनराज खतिवडा लगायतले नेपाली कांग्रेस काभ्रेलाई एक ढिक्का बनाएर लानुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस