काभ्रे । जिल्लाका बनेपामा धनेश्वरी बहुउदेश्यीय सहकारी संस्थाले गौरवमय २४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले धनेश्वरीको कारोबार सन्तोषजनक रहेको बताए । उनले संस्थाको ब्यालेन्स सिट नाफामा हुनु आर्थिक मन्दीको समयमा पनि संस्थाले बोनस खुवाउनु उल्लेख्यनीय उपलब्धी भएको बताउदै आहा! सहकारी भनेका छन् ।
सहकारीले बाहिर राम्रो र तामझाम देखाउनु भित्र खोक्रो हुने भएपनि यो सहकारीको सबै पक्ष राम्रो देखिएको मेयर शाक्यले बताए । यसले विगतका बर्षहरुको जस्तै आफ्नो गतीलाई सही दिशामा हिडाएको भन्दै प्रशंसा गरे । निर्धक्क भएर धनेश्वरी बहुउदेश्यीय सहकारीमा कारोबार गर्न अनुरोध गरेका छन् ।
विशिष्ट अतिथी जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटे श्रेष्ठले जिल्ला सहकारी संघले प्रारम्भिक संस्था बलियो बनााउने अभियान संचालन गर्ने उल्लेख गरे । सहकारीको सुशासनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए । सो अवसरमा श्रेष्ठलाई संस्थाले सम्मान गरेको हो ।
अध्यक्ष बद्रीप्रसाद पलाञ्चोकेले सहकारीले एक बर्षमा हासिल गरेको उपलब्धीको बारेमा सदस्यलाई जानकारी गराए । सचिव श्यामकुमार भालुले एक बर्षमा हासिल गरेको प्रगति प्रतिवेदन पेस गरे । सहकारीले एक बर्षमा ११ करोड रुपियाँको वासलात, नौ करोड रुपियाँको ऋण सेवा प्रवाह गरेको देखिएको छ । कोषाध्यक्ष उमेशरत्न श्रेष्ठले एक बर्षमा गरेको वित्तिय प्रगतिको बारेमा विवरण सार्वजनिक गरिएको थियो । लेखा समितिका संयोजक सुरेशभक्त भोछिभोयाले लेखा समितिको प्रतिवेदन र सुझाव दिनु भएको थियो । जेष्ठ सदस्य नारायणदेवी पोटे, कृष्णमाया राजभण्डारी लगायतलाई नगद सहित सम्मान गरियो ।
पलाञ्चोकेको नेतृत्वमा नयाँ समिति
साधारण सभाको बन्द सत्रले बद्रीप्रसाद पलाञ्चोकेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विश्वमाया श्रेष्ठ, सचिवमा श्याम कुमार भालु, कोषाध्यक्ष उमेशरत्न शाक्य निर्विरोध निर्वाचित हुनुभएको छ । समितिको सदस्यहरुमा दीलबहादुर शाही, रामकृष्ण मानन्धर, राजेन्द्र वादे, भवसागर रंजितकार हुनुहुन्छ । त्यस्तै लेखा समितिको संयोजकमा सुरेशभक्त भोछिभोया र सदस्यमा पुष्पलाल श्रेष्ठ र राजेश पलाञ्चोके रहेका छन् ।




















