झ्याप्ले खोलामा ३ वटा गाडीमा ३० जनाको शव भेटियो, थप गाडी पुरिएको शङ्का
धादिङ । जिल्लाको झ्याप्ले खोलामा पुरिएका तीन वटा गाडीबाट अहिलेसम्म ३० जनाको शव भेटिएको छ ।
प्रहरीका अनुसार हिजो एउटा माइक्रोबसबाट १४ जनाको शव निकालिएको थियो । आज एउटा बसबाट तीन जनाको शव र अर्को माइक्रोबसबाट १३ जनाको शव फेला परेको सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
गोरखाबाट काठमाण्डौका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बसबाट आज तीन जनाको शव निकालिएको छ । यस्तै चितवनबाट काठमाण्डाै आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रोबसमा १३ जनाको शव फेला परेको छ । यो माइक्रोबसबाट चार जना महिला र नाै जना पुरुषको शव निकालिएको छ ।
यस्तै बुटवलबाट काठमाण्डाैका लागि छुटेको लु १ ज ४५७८ नम्बरको माइक्रोबसलाई पनि झ्याप्ले खोलाको पहिरोले पुरेको थियो । याे माइक्राेबसमा रहेका १४ जनाको शव हिजो नै निकालिएको थियो ।
हिजो शव निकालिएकामध्ये तीन जना गुल्मीको मदाने गाउँपालिकाका–६ का र तीन जना गुल्मीदरबार गाउँपालिकाको चारपालाका रहेका खुलेको छ । झ्याप्ले खोलाको पहिरोले अरू पनि गाडी पुगेको शङ्कामा खोजी भइरहेको छ ।