बुधबार, कार्तिक १२, २०८३
सम्भावित विपद्लाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्र उच्च सतर्कतामा

काठमाडौं । सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी, पहिरो र डुबानको जोखिमलाई मध्यनजर गर्दै सरकारले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा राखेको छ।

नेपाल मौसम विज्ञान विभागले कात्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न स्थानमा चट्याङ, हावाहुरीसहित मध्यमदेखि भारी वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरेपछि स्वास्थ्य क्षेत्रलाई तयारी अवस्थामा राखिएको हो।

स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइले सातै प्रदेशका प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई पत्राचार गर्दै आवश्यक स्वास्थ्य सेवा तथा प्रतिकार्य क्षमता तयारी अवस्थामा राख्न आग्रह गरेको छ।

इकाइले प्रत्येक प्रदेशमा चौबिसै घण्टा सम्पर्कमा रहने एक जना आपतकालीन सम्पर्क व्यक्ति तोकी उनको सम्पर्क विवरण उपलब्ध गराउन तथा सार्वजनिक गर्न निर्देशन दिएको छ।

त्यसैगरी, सम्बन्धित हब तथा स्याटेलाइट अस्पतालसँग समन्वय गरी आकस्मिक चिकित्सकीय टोली (ईएमटी) सहित आवश्यक स्वास्थ्य जनशक्तिलाई तयारी अवस्थामा राख्न भनिएको छ। औषधि, स्वास्थ्य सामग्री, उपकरण, एम्बुलेन्स तथा अन्य आवश्यक स्रोतसाधनको विवरण अद्यावधिक गर्न पनि आग्रह गरिएको छ।

विपद्का बेला घाइते तथा प्रभावित नागरिकलाई समयमै उपचार उपलब्ध गराउन एम्बुलेन्स प्रेषण केन्द्रसँग निरन्तर समन्वय गरी एम्बुलेन्स सेवाको सहज र प्रभावकारी परिचालन सुनिश्चित गर्नुपर्ने इकाइले जनाएको छ।

साथै, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित घटना तथा अवस्थाको विवरण दैनिक रूपमा ‘जिरो रिपोर्टिङ’ वा ‘इन्सिडेन्ट रिपोर्टिङ’ मार्फत अनिवार्य रूपमा पठाउन सातै प्रदेशका केन्द्रलाई आग्रह गरिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय