बुधबार, कार्तिक १२, २०८३
ब्लड बैंकमा रगतको मौज्दात सकियो, रक्तदान गर्न रेडक्रसको आग्रह

काठमाडौं । ब्लड बैंकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदान गर्न आम नागरिकलाई विशेष आग्रह गरेको छ।

दसैँ बिदाका कारण रक्तदान कार्यक्रम घटेको र अस्पतालमा उपचाररत बिरामीका लागि रगतको माग बढ्दै गएपछि अभाव भएको रेडक्रसले जनाएको छ।

नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डा. प्रकाश यादवका अनुसार हाल सबै रक्तसमूहको होल ब्लड, प्याक्ड रेड ब्लड सेल (पीआरबीसी) र पीआरपीको मौज्दात सकिएको छ। यसले बिरामीलाई आवश्यक रगत व्यवस्थापन गर्न कठिनाइ भएको उहाँले बताउनुभयो।

रेडक्रसले रक्तदान गरेको तीन महिना पूरा भएका स्वयंसेवी रक्तदाता तथा १८ वर्ष उमेर पूरा भएका स्वस्थ युवायुवतीलाई रक्तदान गर्न अनुरोध गरेको छ। साथै, विभिन्न सङ्घसंस्था तथा स्वयंसेवी रक्तदातालाई रक्तदान कार्यक्रम सञ्चालन गर्न आह्वान गरिएको छ।

नेपाल रेडक्रस सोसाइटीले ७३ जिल्लाका १२० स्थानबाट रक्तसञ्चार सेवा सञ्चालन गरिरहेको जनाएको छ।

रक्तदान गर्न वा रगत आवश्यक परेमा केन्द्रीय रक्तसञ्चार सेवाको ०१-५३८८४८५, ०१-५३८८४८६ वा निःशुल्क हटलाइन ११३० मा सम्पर्क गर्न सकिनेछ। रक्तसञ्चारसम्बन्धी जानकारीका लागि मोबाइलमा ‘NRCS BTS’ एप डाउनलोड गर्न पनि रेडक्रसले अनुरोध गरेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय