काभ्रेमा १ सय ५८ जनाको हेलिकप्टरमार्फत उद्धार

काभ्रे । जिल्लाका विभिन्न ठाउँहरुबाट आइतबार १५८ जनाको हेलिकप्टरमार्फत उद्धार भएको छ ।

वर्षासँगै आएको बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि अलपत्र परेका यात्रुहरुमध्ये १५८ जनालाई आइतबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

बिरामी, वृद्ध, अपांगता भएकाहरु, बालबच्चा र सुत्केरी महिलाहरुलाई प्राथमिकतामा राखेर आइतबार उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेकी एसपी बसुन्धरा खड्काले बताइन् । अझै ठूलो संख्यामा यात्रुहरु राजमार्ग आसपासमा उद्धारको पर्खाइमा रहेको उनले बताइन् ।

करिब वीपी राजमार्गमा करिब एक हजार यात्रुहरु अलपत्र परेको प्रहरीको आंकलन छ । ठाउँ ठाउँमा पहिरोका कारण प्रहरी–प्रहरी बीचमै सम्बन्ध समेत टुटेकाले यसको यकिन विवरण समेत प्राप्त हुन नसकेको उनले बताइन् ।

त्यसैगरी अहिले धुलिखेलबाट करिब ८ किलोमिटर परसम्मको सडक सञ्चालनमा ल्याइएको उनले बताइन्। काभ्रे भन्ज्याङबाट भकुन्डेबसी जोड्ने सडकको पहिरो पन्छाउन अझै बाँकी रहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस