काभ्रेको धुलिखेल नगरपालिकालाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्न माग
काभ्रे । असोजको दोस्रो साताको बाढीपहिराले विभिन्न क्षेत्रमा एक अर्ब बराबरको क्षति पुर्याएपछि धुलिखेल नगरपालिकाले सरकारसँग ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणाको माग गरेको छ।
आइतबार नगरप्रमुखसहित जनप्रतिनिधिले शहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकसँग भेट गरी ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणाको माग गरेका हुन् । नगरप्रमुख अशोक ब्याञ्जूसहितको टोलीले करिब एक अर्बको बराबरको क्षति भएको भन्दै नगरलाई क्षतिग्रस्त पालिका घोषणा गर्न ध्यानाकर्षण गराउन उपप्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकलाई आइतबार ज्ञापनपत्र बुझाएको हो।
सरकारले असोज अन्तिमसाता काभ्रेका १३ मध्ये धुलिखेल र बनेपा नगरबाहेक ११ स्थानीय तहलाई सङ्कटग्रस्त स्थानीय तह घोषणा गरेको थियो । नगरप्रमुख ब्याञ्जूले धुलिखेलको अवस्था र विपदपछि पुनःनिर्माण एवं पुनर्वासका लागि सरकारले खेल्नुपर्ने भूमिकाका बारे उपप्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकलाई जानकारी गराएको बताए। उनका अनुसार ध्यानाकर्षणपत्रमा धुलिखेलको ठकुरीगाउँ, भ्याण्डोल तथा इटोलको फोहोर पानी प्रशोधन केन्द्रसमेतको पुनःनिर्माणका लागि ध्यानाकर्षण गराइएको छ।
नगर प्रमुख ब्याञ्जूले धुलिखेल खानेपानी, काभ्रे एकीकृत खानेपानी, सडक, विद्यालय तथा अन्य संरचनाको क्षतिमासमेत सरकारको सहजीकरणका लागि ध्यानाकर्षण गराइएको बताए। उनले गृहमन्त्री लेखकलाई विभिन्न क्षेत्रको पूर्वाधारसहित निजी आवाससमेत गरी करिब एक अर्ब बराबरको भएको प्रारम्भिक तथ्याङ्क विवरण बुझाए।
जिल्ला विपद् व्यवस्थापन समितिले भने कात्तिक पहिलो साताको बैठकले सिङ्गो काभ्रेपलाञ्चोकलाई नै संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको छ। नगर कार्यालयको प्रारम्भिक तथ्यांकअनुसार ६४ घर पूर्णरुपमा र पाँच सय ७२ घर आंशिक क्षति भएका छन् । धिताल खोला हुँदै बहने सिँचाइमा ५० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ भने साढे आठ किलोमिटर पक्की सडक, ८० किलोमिटर ग्राभेल सडक तथा ११० किमी कच्ची सडक पूर्ण क्षति पुगेको कार्यालयले जनाएको छ। यस्तै पशुधनमा १८ लाख बराबरको पशुधन क्षति भएको, ११ वटा विद्यालयमा पाँच करोड २५ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ।
यसैगरी नगरको आफ्नै फाइबर केबुल पाँच हजार मिटर, टिफिन बक्स, क्यामेरालगायतका विभिन्न उपकरणमा क्षति पुगेको छ। यस्तै एक हजार २०० रोपनीको मकै, दुई हजार ५०० रोपनीको धान, दुई हजार रोपनीमा लगाएको तरकारी र १५ वटा तरकारी टनेलमा क्षति पुगेको जनाइएको छ। नगरले निजी आवासबाहेक ६५ करोड रुपैयाँ बराबरको क्षति भएको विवरण तयार गरेको छ ।
जिल्ला सदरमुकाम धुलिखेलमा रहेका नेपाली सेनाको काली जङ्ग गण, बाल मन्दिर विद्यालय, खेल मैदान, प्रादेशिक ल्याब, जिल्ला समन्वय समिति, कृषि विकास कार्यालय, जिल्ला प्रशासन कार्यालय, सञ्जीवनी स्कुल, होटल तथा अन्य संरचनामा समेत क्षति पुगेको बताएको छ । बाढीपहिरोले आयोजना क्षतिग्रस्त बनाउँदा नगरको ३, ४, ५, ६ र ८ को उपभोक्ता एक महिनादेखि खानेपानीविहीन अवस्थामा छन्।
बाढीपहिरोबाट नगरको १० वटा वडाका अधिकांश निजी आवास, सडक, खेतीयोग्य जमिन, पशुपंक्षी तथा केही वडामा मानीवय क्षति पुगेको थियो। घटनामा दुई जनाले ज्यान गुमाएका थिए एक महिला अझै बेपत्ता छिन्।
यसैबीच बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानीको पुनर्निर्माणको लागि धुलिखेल नगरपालिकाले जर्मन सरकारसँग माग गरेको छ। नगरले नेपालका लागि जर्मनी राजदूत शनिबार डा.थोमस प्रिन्जसँग भेट गरी उक्त प्रस्ताव गरेको हो।