अनर्गल आरोप तथा नकारात्मक टिप्पणी नगर्न बेथानचाेक गाउँपालिकाको आग्रह
काभ्रे । जिल्लाकाे बेथानचाेक गाउँपालिकाले अनर्गल आरोप तथा नकारात्मक टिप्पणी नगर्न आग्रह गरेकाे छ । आज गाउँपालिकाका अध्यक्ष भवगवान अधिकारीले एक सूचना प्रकाशित गर्दै विपदको समयमा यस्ताे आग्रह गरेका हुन् ।
सूचना:
प्रस्तुत विषयमा मिति २०८१ असोज १०, ११ र १२ गतेको आएको बाढी पहिरोबाट यस बेथानचोक गाउँपालिका समेत महाविपदमा परी नेपाल सरकारले विपद् संकटग्रस्त गाउँपालिका समेत घोषणा गरेको व्यहोरा अवगतै छ ।
यसै सन्दर्भमा हाल बेथानचोक गाउँपालिकाको पूर्वाधार निर्माण र सेवा प्रवाहमा जनप्रतिनिधिहरु, कर्मचारीहरु र आमजनसमुदाय एकतावद्ध भई कार्य गरिरहेको अवस्थामा राजनीतिक द्वेष र पुर्वाग्रहका आधारमा जनप्रतिनिधिहरु र कर्मचारीहरुबीचको एकतामा खलल पुग्ने र आमजनमानसमा अविश्वासको वातावरण सिर्जना गर्नेगरी केही व्यक्ति र संचार माध्यमले सामाजिक सञ्जालमा यस बेथानचोक गाउँपालिकाको सिंगो जनप्रतिनिधि, लेखा अधिकृत लगायत अन्य कर्मचारीहरुलाई समेत बदनाम गर्नेगरी केही असत्य, भ्रामक र नकारात्मक टिकाटिप्पणीहरू गरेको पाइयो ।
यस प्रकारको टिकाटिप्पणी गर्नु अनुचित मात्र नभई अपमानजनक पनि भएकाले यस विषयप्रति बेथानचोक गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ । विपद्को यस संवेदनशील घडीमा सबै पक्ष मिलेर सकारात्मक सोच र एकता प्रदर्शन गरेर मात्र समस्याहरुको सामुहिक समाधान सम्भव छ ।’
अधिकारीद्वार हस्ताक्षरित सूचनमा भनिएको छ, ‘बेथानचोक गाउँपालिका नेपालको संविधानले प्रदान गरेको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दछ तथापि, जनप्रतिनिधि तथा कर्मचारीप्रति अनर्गल आरोप तथा नकारात्मक टिप्पणी नगर्न सम्पूर्णमा आग्रह गर्दछ । यदि यस प्रकारका क्रियाकलाप दोहोरिएमा प्रचलित कानूनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने समेत जानकारी गराईन्छ ।