काभ्रे । अक्षरमार्गले साहित्यकार डा. गोपाल पौड्याल मण्डनेको शान्ता खण्डकाव्यको एक कार्यक्रम बीच लोकार्पण गरिएको छ ।
कृसत लोकार्पण गर्दै वरिष्ठ साहित्यकार डा. शैलेन्दुप्रकाश नेपालले शान्ता सुन्दर काव्य सिर्जना भएको बताए । उनले परदेशमा बसेर पनि स्वदेशका घटनालाई उतार्न सक्नु ठूलो कुरा रहेको विचार व्यक्त गरे । साहित्यकार सूर्यप्रसाद लाकोजूले शान्ता खण्डकाव्य वर्तमान नेपाली समाजको प्रतिविम्ब भएको उल्लेख गरे ।
काव्यकार गोपाल मण्डनेले वियोगान्त शान्ता खण्डकाव्यले हरेक कुराको समय आउने र कुसमयमा गरेको प्रेम पनि फलदायी नहुने भाव खण्डकाव्यले बोकेको धारणा राखे । कार्यक्रममा गीता रेग्मीले कृतिको बारेमा टिप्पणी गरे ।
नेपाली भाषा र साहित्यमा समर्पित अक्षरमार्गले नेपाली वाङमयका मूर्धन्य विद्वानहरूको सिर्जनाका साथसाथै नेपाली साहित्यमा भर्खर कलम चलाएका प्रतिभाहरूलाई समेत अगाडि ल्याउने, साहित्यमा अगाडि बढाउने काम गर्दै आएको छ ।
काभ्रे जिल्लाको मण्डन देउपुरमा जन्मनु भएका गोपाल पौड्यालले नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आउनु भएको छ । खण्डकाव्यभित्र शान्ताको वियोगान्त कथा छ । त्योभन्दा पनि उहाँका अभिभावकलाई परेको पीडाको सजिव चित्रण गरिएको छ । एउटा पुरुषले नारीलाई कसरी मर्न बाँध्य बनाउँछ भन्ने कुराको चित्रण कृतिले बोकेको छ ।



















