काभ्रे । बैङ्किङ कसुर मुद्दामा २ वर्ष कैद सजाय ठहर भएका सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ ।
काभ्रेको तेमाल गाउँपालिका-६ घर भई हाल काठमाडौं महानगरपालिका-४ बस्दै आएका लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।
रामकुमार तिवारीको जाहेरीले लामालाई जिल्ला अदालत काठमाडौंले २०८० चैत २७ गते २ वर्ष कैद र ३० लाख बिगो र ३० लाख जरिवाना सजाय हुने फैसला गरेको थियो । २०८० चैत २७ मा अदालतले फैसला गरेपछि उनी फरार थिए ।
२०७५ सालमा किसानको बुद्धचित्त माला लुटपाट गरेको आरोपमा पनि उनी पक्राउ परेका थिए । त्यसबेला तत्कालीन सांसद नवीना लामा उनलाई छुटाउन गएपछि विवादसमेत भएको थियो ।
सत्यमान पटक-पटक ठगी गरेको आरोपमा पक्राउ परेका थिए । एसपी अधिकारीले पक्राउ परेका लामालाई सजाय भुक्तानीका लागि अदालतमा उपस्थित गराएर कारागार पठाइने जानकारी दिए ।



















