काभ्रे । काभ्रेभञ्ज्याङबाट लागु औषध ब्राउन सुगर जस्तो देखि पदार्थ सहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शङ्खरापुर नगरपालिका वडा नम्बर ९ का अभिषेख राजवाहक, ३२ बर्षीय किशोर थापा र ३१ बर्षीय बिराट थापा छन् ।
लागु औषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ र जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकबाट खटिएका प्रहरी टोलीले भकुण्डेवेसीबाट धुलिखेल तर्फ आउँदै गरेको सवारी साधन जाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।
राजवाहक सवारी चालक हुन् । उनले चलाई आएको बा १५ च २३५६ नम्बरको स्कारपियो गाडी रोकी चेकजाँच गर्ने क्रममा गाडीको ड्यासबोर्डमा रहेको साउण्ड सिस्टम (क्यासेट) को भाग खोली हेर्दा भित्र कालो रङगको प्लास्टिक भित्र ब्राउन सुगर जस्तो देखिने पदार्थ लुकाई छिपाई राखेको अबस्थामा फेला परेको थियो ।
तिनै जनाको शरीरको समेत खानतलासी गर्दा बिराट थापाको साथबाट सामसुङ कम्पनीको मोबाईल थान-१, किशोर थापाको साथबाट सामसुङ कम्पनी मोबाईल थान-१ र राजवाहकको साथबाट सामसुङ कम्पनीको मोबाईल थान-१ फेला परेको छ । प्रहरीले स्कार्पियो गाडी समेत नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका तीनै जनालाई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान कार्य भईरहेको छ ।



















