काभ्रे । पनौती नगरपालिकाको १६ औं नगर सभा नगर प्रमुख रामशरण भण्डारीको अध्यक्षतामा सम्पन्न भएको छ । नगर सभाले ४६ करोड बजेट कटौती गर्ने निर्णय गरेको छ ।
यो बीचमा नगरपालिकाले प्रकोप व्यवस्थापन कोषमा ३ करोड ११ लाख ६७ हजार ४ सय ९७ रुपैया जम्मा भएकोमा १ करोड ८० लाख ९६ हजार ३ सय ५ खर्च भएको उल्लेख गरेको छ । संघ, प्रदेश, काठमाडौ महानगरपालिका, तथा विभिन्न ब्यक्ति तथा निकायबाट प्राप्त रकम प्रकोप ब्यवस्थापन कोषमा जम्मा गरिएको नगरसभामा जानकारी दिइएको छ ।
असोज १०–१२ मा पनौतीमा एक विदेशी नागरिक सहित १९ जनाको मृत्यु भएको थियो । सो विपत्तिमा परेर अझै एक जना बेपत्ता हुनुहुन्छ ।
पाँच सय ८६ वटा घर पूर्ण क्षति भएको नौ सय ४४ वटा घर आंशिक क्षति भएको नगरमा सडक, सिचाई, खानेपानी, पुल लगायतका संरचनामा पुर्ण र आंशिक क्षति भएको नगरसभामा जानकारी दिइयो ।
चालु आर्थिक वर्ष २०८१÷२०८२ मा प्रस्तुत गरिएको १ अर्ब ६० करोड रुपैयाको बजेटमा शंशोधन सहित १ अर्ब १४ करोड कायम गरिएको छ । ४६ करोड बजेट योजना सहित कटौती गरिएको छ ।
नगर सभामा आर्थिक ऐन २०८१ को लागि स्वीकृत बजेट तथा कार्यक्रममा पुनरावलोकन सम्वन्धी प्रस्ताव उपप्रमुख गिता बञ्जाराले प्रस्तुत गरिन् । चालू आर्थिक वर्ष २०८१÷२०८२ को मसिंर मसान्तसम्मको आम्दानी खर्च अनुमोदन सम्वन्धी प्रस्ताव वडा अध्यक्ष दिपकप्रसाद दाहाल र १५ औ नगर सभा पश्चात हालसम्म कार्यपालिकाले विभिन्न मितिमा गरेका निर्णयहरुको अनुमोदन सम्बन्धी प्रस्ताव वडा अध्यक्ष पुरुषोत्तम अधिकारीले र वडाअध्यक्ष मोहनबहादुर भण्डारीले धन्यवाद प्रस्ताव गरे ।
नगर प्रमुख रामशरण भण्डारीले छलफलमा उठेका विषयबस्तुहरुलाई सम्बोधन गरे । उपप्रमुख गीता बन्जाराले नगर सभामा विपत्ति तथा अन्य समसामयीक विषयमा धारणा राखिन ।



















