
काभ्रे । जिल्लाको धुलिखेल नगरपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा प्रदान गर्ने धुलिखेल रत्नबाट डा.दिपक श्रेष्ठ सम्मानित भएका छन् । धुलिखेल अस्पतालमा कार्यरत श्रेष्ठलाई अनुसन्धान, सामाजिक तथा सामूदायिक क्षेत्रमा अतुलनीय योगदान पुर्याएवापत सम्मान गरिएको हो ।
स्थापना दिवस समारोहका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य एवं पुर्वमन्त्री गोकुल बाँस्कोटा र नगर प्रमुख अशोक व्यान्जुले सम्मान प्रदान गरे । यस्तै पुर्व नगर उपप्रमुख विमला शर्मा चौलागाईंलाई धुलिखेल नक्षत्रबाट सम्मान गरियो । नगर उपप्रमुखको रुपमा धुलिखेलको समग्र विकासमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।
यस्तै गायिका योजना खड्कीलाई धुलिखेल प्रज्ञाश्री, काठमाडौं विश्वविद्यालयलाई धुलिखेल सेवाश्रीबाट सम्मान गरिएको छ भने धुलिखेल ताराबाट जिआइजेट, खेलाडी पुष्पलाल श्रेष्ठ, सम्पदा संरक्षणकर्मी आमोदनाथ प्याकुरेल, अखिल नेपाल फूटबल संघ एन्फा, शिक्षक चुनियालाल श्रेष्ठ, इन्जिनियर रोजन ताम्राकार र शिक्षक अशोक घिमिरे सम्मानित भएका हुन् ।
धुलिखेल नगरपालिकाले ऐन नै बनाएर यस्तो सम्मान प्रदान गर्दै आएको छ । कार्यक्रममा सातजना कर्मचारीलाई दीर्घ सेवा सम्मानबाट सम्मानित गरियो ।