मंगलबार बसेको सडक डिभिजन भक्तपुरले उक्त सडकको ठेक्का रद्द गर्ने निर्यय गरेको हो। सडक डिभिजन भक्तपुरले सार्वजनिक सूचनामार्फत् ठेक्का रद्द भएको जानकारी दिएको छ।
काभ्रेको धुलिखेलदेखि–खावा भञ्ज्याङसम्म चार किलोमिटर सडक गौरी पार्वती निर्माण सेवा प्रालिले बनाइरहेको थियो। २०७९ जेठ २० मा ठेक्का लागेको उक्त सडक २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने थियो।
तर ठेकेदार कम्पनीले निर्माणमा आलटाल गर्दै सडक बनाइरहेको थिएन। अहिले त्यस खण्डको निर्माण ठप्प नै छ।
स्थानीयले गुनासो गरेपछि र यात्रुले सास्ती व्यहोरेपछि संसदको पूर्वाधार समितिसमेत अनुगमनमा गएको थियो। सडक डिभिजनको ताकेतापछि पनि ठेकेदार कम्पनीले निर्माणमा आलटाल गरेपछि गत माघ १९ गते स्पष्टीकरणसमेत सोधिएको थियो।
त्यसपछि निर्माण कम्पनी सडक डिभिजनमा उपस्थित भएर लिखित स्पष्टीकरण दिए पनि जवाफ सन्तोषजक, भरपर्दो विश्वसनीय नदेखिएपछि ठेक्का रद्द गर्ने निष्कर्षमा पुगिएको कार्यालयले जनाएको छ।



















