
काभ्रे । आसन्न स्ववियु निर्वाचनमा काभ्रे बहुमुखी क्याम्पस बनेपामा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) काभ्रे र माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)बीच सहकार्य गर्ने सहमति भएको छ ।
काभ्रे बहुमुखी क्याम्पसमा स्ववियुलाई सशक्त बनाउने उदेश्यका साथ सहमति, सहकार्य र एकताको नयाँ अभ्यास सुरु गरिएको सहमति पत्रमा उल्लेख छ । सहमति पत्रमा अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष विवश तामाङ र अनेरास्ववियु काभ्रेका अधयक्ष दिपेश तिमल्सिनाले हस्ताक्षर गरेका छन् ।
सभापति पदमा अनेरास्ववियुका तर्फबाट उम्मेदवार रहेका मिलन गौतम, सचिवमा अनेरास्ववियु क्रान्तिकारीका ग्युछेन लामा, कोषाध्यक्षमा अनेरास्ववियुकी सृजना सापकोटालाई उम्मेदवार बनाउने सहमति भएको छ । साथै अनेरास्वविुका समानुपातिक तर्फका दुई उम्मेदवार विमान मानन्धर र श्रेयस नेपालको उममेदवारी फिर्ता लिई अनेरास्ववियु क्रान्तिकारीका विसन शाही र संगिता तामाङलाई समर्थन गर्ने दुई विद्यार्थी संगठनबीच सहमति भएको छ । नेपाली कांग्रेस निकट नेवि संघ र एकीकृत समाजवादी निकट अनेरास्ववियूबीच पनि सहकार्य भएको छ ।
यसअघि पाँच विद्यार्थी संगठनबीच काभ्रेका १५ क्याम्पसमा नेतृत्व भागबण्डा भएको थियो । काभ्रे क्याम्पसमा भने अलगअलग प्रतिस्पर्धा गर्ने निर्णय भएको छ । यसैबिच अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको तर्फबाट काभ्रे बहुमुखी क्याम्पसमा सभापतिका उम्मेदवार मिलन गौतमले विद्यार्थीको अधिकार सशक्त रुपमा उठाउने प्रतिवद्धता जनाएका छन् । अनेरास्वविु काभ्रेका पुर्वअध्यक्ष समेत रहेका गौतमले काभ्रे बहुमुखी क्याम्पसमा आफ्नो उम्मेदवारी केवल एउटा पदका लागि मात्रै नभई विद्यार्थीको सपना, आवाज र अधिकारलाई सशक्त रुपमा उठाउने अवसरका रुपमा लिएको बताए ।