
काभ्रे । विद्यार्थीको फलामे ढोका मानिएको प्रवेशिका अर्थात माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को सम्पुर्ण तयारी पुरा भएको छ । चैत्र ७ गते बिहीबार देखिस ुरु हुने कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को तयारी काभ्रेमा पुरा भएको छ ।
एसईई परीक्षा २०८१ मा नियमित तर्फ ५ हजार ७ सय ८९ विद्यार्थी सम्मिलित हुनेछन् । ग्रेडबृद्धीका लागि ६ सय २ जना विद्यार्थी सम्मिलित हुँदैछन् भने प्राविधिक तर्फ १ सय ९६ विद्यार्थी सहभागि हुनेछन् । कुल विद्यार्थी ६ हजार ३ सय ९१ विद्यार्थी सहभागि हुनेछन् । ३४ वटा केन्द्रमा २ सय १६ वटा विद्यालयका विद्यार्थी सहभागि हुनेछन् ।
परीक्षामा काभ्रे बहिरा विद्यालयका ९ जना बहिरा विद्यार्थी सहभागि हुनेछन् । पुरानो पाठ्यक्रम अनुसार २०७८ र २०७९ का ७ जना ग्रेड बृद्धीमा छन् । जसको लागि परीक्षा केन्द्रका केन्द्राध्यक्षहरुलाई अभिमुखिकरण गराईएको छ । जिल्लामा ३४ वटा केन्द्र मार्फत परीक्षा संचालन हुँदैछ । जसमध्ये तीनवटा केन्द्रमा महिला केन्द्राध्यक्षले जिम्मेवारी पाएका छन् ।
बनेपाको चैतन्य मावीमा निशादेवी मानन्धर, पूर्ण सञ्जिवनी मावीमा गायत्री तिमल्सिना र हनुमान मावी पातलेखेतमा सरिता सुनुवार केन्द्राध्यक्ष रहनु भएको छ’–शिक्षा विकास तथा समन्वय इकाई काभ्रेकी इकाई प्रमुख उप सचिव देवका ढकालले भनिन् ।
गत वर्ष ४० वटा परीक्षा केन्द्र कायम भएकोमा यो वर्ष विद्यार्थी संख्याका आधारमा ६ वटा कटौती गरिएर ३४ वटा मात्रै केन्द्र कायम भएका छन् ।
केन्द्राध्यक्षहरुलाई अभिमुखीकरणसँगै परीक्षाका लागि आवश्यक पर्ने सामाग्रीहरु उपलब्ध गराईएको छ ।
सहभागि केन्द्राध्यक्षहरुले परीक्षा संचालन खर्च कम भएको बताएका थिए भने प्राविधिक तर्फ १० दिनको परीक्षाका लागि गरिएको ब्यवस्थापन ११ दिनलाई पु¥याउनु पर्ने गुनासो गरेका थिए । प्राविधिक तर्फ ११ दिन एसईई संचालन हुँदै आएको छ ।