
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । पछिल्लो मतपरिणामअनुसार नेपाल विद्यार्थी संघ (नेविसंघ) ले लिड गरिरहेको छ । जसअनुसार नेविसंघले ९९ कलेजको स्ववियु अध्यक्ष जितेको छ । कतिपय कलेजहरूमा नेविसंघको पुरै प्यानल नै निर्वाचित भएको छ ।
त्यस्तै अखिल (क्रान्तिकारी) ले जनप्रशासन क्याम्पस र सानोठिमी बहुमुखी क्याम्पस भक्तपुरमा जित निकालेको छ । जनप्रशासनमा अनिकेत तिवारी र सानोठिमीमा नरेन्द्र ठगुन्ना अध्यक्ष निर्वाचित भएका हुन् ।
पुलचोक इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन् । चैत ५ गते देशभरका ३८ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको थियो । त्यस्तै करिब ३०० को हाराहारीमा सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्ववियु निर्वाचन भएको थियो ।