काठमाडौँ । शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका १ हजार ४१० आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार आरोहणका लागि १६१ टोलीले अनुमति लिएका हुन्।
विभागकी शाखा अधिकृत सुधा रेग्मीका अनुसार अनुमति लिनेमा १ हजार ६९ पुरुष र ३४१ महिला छन्। आरोहण अनुमति शुल्कबापत विभागले ३१ करोड ८० लाख ५० हजार ७७८ रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ।
यस ऋतुमा सबैभन्दा धेरै आरोहीले मनास्लु हिमाल आरोहणको अनुमति लिएका छन्। मनास्लु आरोहणका लागि ४३ टोलीका ५०० जनाले अनुमति लिएका छन्, जसबाट २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी सङ्कलन भएको छ।
त्यस्तै, आमादब्लम हिमाल आरोहणका लागि ३२ टोलीका ३८६ र हिम्लुङ हिमालका लागि १२ टोलीका १२१ जनाले अनुमति लिएका छन्। धौलागिरि–१ आरोहणका लागि ६ टोलीका ३७ तथा मकालु हिमालका लागि तीन जनाले अनुमति लिएका छन्।
आरोहण अनुमति लिनेमा चीनका सबैभन्दा धेरै १४१ जना छन्। त्यस्तै, फ्रान्सका १३०, अमेरिकाका ११९, रुसका १०८ र बेलायतका ९६ जना आरोहीले अनुमति लिएका छन्।
विभागका अनुसार आरोहण अनुमतिबाट २० लाख ८९ हजार ५८४ अमेरिकी डलर रोयल्टी सङ्कलन भएको छ, जुन नेपाली रुपैयाँमा करिब ३१ करोड ८० लाख ५० हजार बराबर हो।


