बुधबार, कार्तिक १२, २०८३
जर्मन संसदीय राज्यसचिव कोफ्लर चारदिने नेपाल भ्रमणमा आउँदै

काठमाडौँ । जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय राज्यसचिव डा. बार्बेल कोफ्लर चारदिने नेपाल भ्रमणका लागि आज नेपाल आउँदै हुनुहुन्छ।

नेपालस्थित जर्मन दूतावासका अनुसार भ्रमणका क्रममा उहाँले नेपाल–जर्मनी विकास सहकार्य, महिला अधिकार, स्वास्थ्य क्षेत्र र भोटेकोशी बाढीको प्रभावबारे छलफल गर्नुहुनेछ। उहाँले नेपाल सरकार, नागरिक समाज तथा अन्तर्राष्ट्रिय र स्थानीय साझेदारका प्रतिनिधिसँग भेटघाट गर्ने कार्यक्रम छ।

जर्मनीले भोटेकोशी बाढी प्रतिकार्यका लागि एक करोड १० लाख ६१ हजार युरो सहयोग उपलब्ध गराएको छ। उक्त रकम तत्कालीन मानवीय सहायता, स्वास्थ्य तथा ऊर्जा पूर्वाधारको आपूर्ति र प्रभावित क्षेत्रको पुनर्निर्माणमा खर्च गरिनेछ।

भ्रमणका क्रममा राज्यसचिव कोफ्लरले नुवाकोट पुगेर स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी र बाढी प्रभावित नागरिकसँग भेटघाट गर्नुहुनेछ। साथै, काठमाडौंमा जर्मन विकास सहयोगबाट समर्थित स्वास्थ्य संस्थाको अवलोकन गरी स्वास्थ्य क्षेत्रका सरकारी तथा नागरिक समाजका प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम छ।

उहाँले नेपालका पछिल्ला राजनीतिक घटनाक्रम, गत वर्षको जेनजी आन्दोलन र सङ्क्रमणकालीन न्यायका विषयमा समेत जानकारी लिने बताइएको छ। सन् २०२२ मा पनि नेपाल भ्रमण गर्नुभएकी कोफ्लरको यस भ्रमणले दुई देशबीचको विकास सहकार्य थप सुदृढ हुने अपेक्षा गरिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय