काभ्रेको पनौतीमा महोत्सव हुँदै

काभ्रे । ऐतिहासिक नगरी पनौतीमा प्रथम पनौती सांस्कृतिक तथा व्यापारिक महोत्सव हुने भएको छ । राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा चैत २१ गतेदेखी २०८२ वैशाख ३ गतेसम्म महोत्सव हुन लागेको हो ।

महोत्सव पनौती-७ कुशादेवी मार्गमा हुनेछ । पनौतीको गरिमालाई उच्च बनाउने, आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, साँस्कृतिक, औद्योगिक, हस्तकलालाई प्रबर्द्धन गर्ने, कला, संस्कृति, घरेलु उद्योग र व्यापारिक प्रबर्द्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले चैते दशैं तथा नव वर्ष २०८२ को पावन अवसरमा महोत्सव आयोजना गरिएको राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष नमराज ढुंगानाले जानकारी दिए ।

पनौतीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ढुंगानाले महोत्सवमा कृषि, घरेलु सामाग्री लगायतका ६० भन्दा बढी व्यापारिक स्टल रहने वताए । महोत्सवमा बालबालिकाहरुको मनोरञ्जनको लागि बालउद्यानको समेत व्यवस्था गरिनुका साथै प्रत्येक दिन राष्ट्रिय स्तरको कलाकार सम्मिलित साँस्कृतिक कार्यक्रमको आयोजना हुनेछ ।

कार्यक्रममा जिल्ला भित्रका नव प्रतिभावान् कलाकारहरुलाई विशेष प्राथमिकता दिइने आयोजकको भनाई छ । अन्य महोत्सवमा बाल उद्यान तथा मनोरञ्जनात्मक खेलका लागि भारतीय समूह संलग्न हुने गरेकोमा यो महोत्सवमा सबै कार्य नेपालीले नै गर्ने ढुंगानाले वताए ।

महोत्सव पनौती उद्योग वाणिज्य संघसँगको सहकार्यमा अयोजना गर्न लागिएको हो भने व्यवस्थापनको जिम्मा संयुक्त नेपाल मेला महोत्सव ग्रुपले गर्नेछ । महोत्सवको संरक्षकमा पनौती वडा नं. ७ को कार्यालय रहनेछ । महोत्सवमा जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिलाई प्रवेश निशुल्क हुनेछ भने अन्यका लागि ८० रुपैयाँ र विद्यार्थीका लागि ६० रुपैयाँको टिकट उपलब्ध हुनेछ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय