
काभ्रे । जिल्लाको बनेपा नगरस्तरीय अन्तर वडा मेयर कप फूटबल प्रतियोगिताको उपाधि बनेपा – ६ ले जितेको छ ।
आज भएको फाइनल खेलमा वडा नं १४ लाई १-० ले पराजित गर्दै वडा – ६ ले उपाधी जितेको हो । वडा ६ का लागि निर्णायक गोल पारस नेपालले गरेका थिए । उनी फाइनल खेलको म्यान अफ दि म्याचसमेत चुनिए । उपाधिसँगै वडा – ६ ले नगद १ लाख ५ हजार पनि प्राप्त गरेको छ ।
यस्तै उपविजेता बनेको वडा – १४ ले नगद ५५ हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा बेस्ट प्लेयरको उपाधी वडा – १४ का विरेन्द्र थापाले प्राप्त गरे भने बेस्ट डिफेन्सको उपाधी वडा – ११ का प्रभात बोगटी, बेष्ट मिडफिल्डर वडा – ९ का पुनम आलेमगर, इमर्जिङ प्लेयर वडा – ६ का फूमी केसी र बेस्ट किपरको उपाधी वडा – ६ कै सौगात खत्रीले प्राप्त गरे । यस्तै हाइस्कोररको पुरस्कार रोहन शाही र सुजल राजबाहकले प्राप्त गरे । दुबैले प्रतियोगितामा २-२ गोल गरेका थिए ।
अघिल्लो पटकको उपाधी विजेता वडा – ९ को आयोजनामा भएको प्रतियोगिताको अर्को संस्करण हालको विजेता वडा – ६ ले गर्ने छ । प्रतियोगिताका विजयी टिम, खेलाडी र प्रशिक्षकलाई नगर प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख बिमला सापकोटा र वडा – ९ की कार्यवाहक वडा अध्यक्ष मनिषा तामाङले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतियोगितालाई बनेपा फूटबल एकेडेमी, बनेपा पोलिटेक्निक फूटबल मैदान संरक्षण उपभोक्ता समिती, काभ्रे जिल्ला फूटबल संघ, माउन्ट एभरेष्ट फूटबल क्लव, शिर मेमोरियल अस्पताल लगायतले प्राविधिक सहयोग गरेका थिए ।