बिहिबार, आषाढ ०४, २०८३
सत्य सूचनाको विश्वास जोगाउन सधैँ कटिबद्ध रहनु

बेथानचोक खबर गौरवमय ७ वर्ष पूरा गरी आजबाट ८ औँ वर्षमा प्रवेश गरेकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । पाठक श्रोताको विश्वास र सद्भाव नै सञ्चारमाध्यमको तागत हो, त्यसका लागि हामीले सधैँ जिम्मेवार र तत्पर भएर काम गर्नुपर्ने हुन्छ । आम पाठकमा सत्य सूचनाको विश्वास जोगाउन सञ्चारमाध्यम सधैँ कटिबद्ध रहनुपर्छ । राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र आम जनताको पक्षधर समाचार पोर्टलका रूपमा आफूलाई उभ्याएकोमा अझै उचाइको कामना गर्दछु ।

जनताका नैसर्गिक अधिकार रक्षाका लागि सत्य र तथ्यमा आधारित पत्रकारिताका क्रममा कसैसँग पनि सम्झौता नगरी काम गर्नुपर्ने हुन्छ । निष्पक्षता पत्रकारिताको सबैभन्दा विशिष्ट पक्ष हो । निमुखा र आवाज विहीनहरूको पक्षमा सदैव बोलिरहेको यस पोर्टललाई भविष्यमा पनि यसको निरन्तरताको अपेक्षा गर्दछु ।

कान्छो सञ्चार माध्यमका रूपमा उदाएको अनलाइन पत्रिका त्यसमाथि मोफसलबाट सञ्चार माध्यम सञ्चालन गर्नु कम चुनौतीपूर्ण हुँदैन । व्यावसायिक रूपमा अन्य सञ्चार माध्यम समेत धराशायी बनिरहेको अवस्थामा डिजिटल पत्रिका प्रकाशन, प्रसारण गर्ने आँट जुटाउनु निकै चुनौतीपूर्ण काम हो । कुनै पनि पेसा अँगाल्न सहज र कम चुनौतीपूर्ण छैन र हुँदैन पनि । अझ सञ्चार क्षेत्रमा निरन्तर पाठक र शुभचिन्तकको मन जितेर अगाडी बढ्नु त झन् कठिन विषय हो ।

बदलिँदो समाज सँगै पाठकले चाहेजस्तै सूचना र मनोरञ्जन प्रदान गरेर आफूलाई जिल्लामा उत्कृष्ट साबित गर्नु ज्यादै कठिन छ । सत्य, तथ्य, निष्पक्ष र पारदर्शी सञ्चारमाध्यमका रूपमा आफूलाई स्थापित गर्नु ज्यादै कठिन विषय हो । यही कठिन विषय रोजेर अगाडी बढेको बेथानचोक खबरले यात्राका क्रममा पाइलै पिच्चे भेटिने काँडाहरू, तीरको तिखो घोचाई र बिझाइ, उकाली ओराली सबैलाई स्वीकार गरी अझै अगाडीको यात्रा तय गरेकोमा हर्षित छु ।

काभ्रेपलान्चोक जिल्लाकै अनलाइनहरू मध्ये छोटो समयमै समाजमा हुने हरेक विकृति र विसङ्गतिका विरुद्ध कलम चलाएर, राम्रा कामलाई प्रोत्साहन गर्दै समाजका हरेका गतिविधिलाई चिरफार गर्न सफल भएको छ । आठौँ वार्षिकोत्सवको अवसरमा विगतमा गरेका राम्रा कामलाई आत्मासाथ गर्दै, खराब कामबाट पाठ सिकेर अगाडी बढ्ने प्रण मिलोस् । आगामी दिनमा थप परिष्कृत बन्दै सबै वर्ग, क्षेत्र र समुदायलाई समेटेर सबैको साझा सञ्चारमाध्यम रूपमा विकास गर्दै अघि बढोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

सुनिता सापकोटा
अध्यक्ष
सञ्चारिका समूह, काभ्रेपलाञ्चोक

 

सिफारिस

ताजा समाचार

लोकप्रिय