
डिजिटल पत्रकारितामा आफ्नो छुट्टै पहिचान बनाउन सफल बेथानचोक खबर डट कम आठौं वर्षमा प्रवेश गरेको ऐतिहासिक अवसरमा सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना। निरन्तर सत्य, तथ्य र निर्भीक पत्रकारिताको यात्रामा अडिग रहँदै, यो समाचार पोर्टलले काभ्रे क्षेत्रको हरेक गतिविधिलाई विश्वसनीय ढंगले उजागर गर्दै आएको छ।
पत्रकारिता केवल समाचार प्रकाशन गर्ने माध्यम मात्र होइन, यो समाजको ऐना हो। निष्पक्ष, स्वतन्त्र र निर्भीक पत्रकारिता बिनाको लोकतन्त्र अपूर्ण रहन्छ। बेथानचोक खबर डट कम ले सुरुवाती दिनदेखि नै अन्याय, बेथिति, भ्रष्टाचार र जनचासोका मुद्दाहरूलाई प्राथमिकतामा राख्दै आएको छ। काभ्रेपलाञ्चोकजस्तो विविधता रहेको जिल्ला, जहाँ ग्रामीण भेगदेखि शहरीकरणको प्रभाव परिरहेका क्षेत्रहरू छन्, त्यहाँका नागरिकका मुद्दाहरूलाई मिडियाले उठाउनु अझ आवश्यक हुन्छ।
यो पोर्टलले जनजनमा दुःख सुखका खबर पुर्याउने काम गर्यो, अझै बरु स्थानीय स्तरको नीति निर्माण, विकास योजनाको निगरानी, भ्रष्टाचारको पर्दाफास र जनताको आवाज सरकारसम्म पुर्याउने सेतु को काम थालिएको देख्दा खुशी छु । यही नै एक सशक्त, निर्भीक मिडियाको भूमिका हो।
एक डिजिटल मिडिया सञ्चालन गर्नु सधैं सहज हुँदैन। आर्थिक अभाव, विज्ञापनको सीमितता, गुणस्तरीय सामग्री उत्पादन गर्ने चुनौती, सत्य बोल्दा असहज परिस्थितिको सामना गर्नुपर्ने बाध्यता जस्ता अवरोधका बीच पनि बेथानचोक खबर डट कम दृढ रह्यो भन्ने मेरो बुझाइ छ।
स्थानीय समाचारलाई मूलधारको पत्रकारिताभन्दा कम आँकलन गर्ने प्रवृत्तिविरुद्ध लड्दै, यो पोर्टलले स्थानीय मुद्दाहरूलाई राष्ट्रिय मञ्चमा पुर्याउने महत्वपूर्ण कार्य गरिरहेको छ भन्ने बुझ्दछु । काभ्रे जिल्लामा मात्र होइन, नेपालभरका पाठकहरूका लागि समाचारको भरपर्दो स्रोत बन्न सकोस् मेरो यही कामना छ ।
गत आठ वर्षमा बेथानचोक खबर डट कम ले थुप्रै महत्वपूर्ण समाचारहरू ब्रेक गरेको छ। अनियमितताको भण्डाफोर, सडक सुरक्षा, स्वास्थ्य सेवा, शिक्षा, कृषि, रोजगारजस्ता क्षेत्रमा यसको विशेष योगदान रहेको छ।
आजको डिजिटल युगमा मिडिया केवल लेखिएका शब्दमा सीमित रहन सक्दैन। भिडियो रिपोर्टिङ, पडकास्ट, डेटा पत्रकारिता, भिजुअल स्टोरीटेलिङको प्रयोग अबको आवश्यकता हो। जुन बेथानचोक खबर डट कम ले प्रविधिसँग हातेमालो गर्दै, गुणस्तरीय र गहकिलो सामग्री उत्पादन गर्दै गरेको छ यसमा अझ बढी ध्यान दिने अपेक्षा गरिन्छ ।
समाचार मात्रै लेखेर होइन, समाजलाई जागरूक पार्ने, नीति निर्माणमा प्रभाव पार्ने, भ्रष्टाचारविरुद्ध जनमत सिर्जना गर्ने, र सत्य बोल्न डराउनेहरूसँग सम्झौता नगर्ने निडर पत्रकारिताको मिसाल बन्नुपर्छ भन्ने मान्यता म राख्दछु।
बेथानचोक खबरले नयाँ पुस्ताका पत्रकारहरूलाई स्वतन्त्र पत्रकारिताको महत्व बुझ्न प्रेरित गरिरहेको छ। यसले समाजप्रति उत्तरदायी पत्रकारिताको उदाहरण प्रस्तुत गर्दै पत्रकारिता पेशालाई व्यवसायभन्दा बढी कर्तव्यका रूपमा बुझ्नुपर्ने पाठ सिकाएको छ।
शुभकामना: अझ बुलन्द आवाज बनोस् बेथानचोक खबर!
बेथानचोक खबर डट कम आठौं वर्षमा प्रवेश गर्दा यसको अझ बलियो भविष्य, निष्पक्षता, सत्यतामा अडिग रहने प्रतिज्ञा झन् मजबुत बनोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु।
आम पाठकका रुचिका विषय र खोजीका विषयमा सधैं सत्यताका पक्षमा उभिने बेथानचोक खबर डट कमको यात्रामा साथ दिनेछौं। यो मिडिया जनताको साँचो आवाज बन्नेछ, अन्यायविरुद्ध लड्नेछ, विकासको सही दिशा पहिल्याउनेमा हातेमालो गर्न एक मिडिया कर्मीको नाताले सदैव तयार छु।
अन्त्यमा, ‘सत्य तथ्यका लागि निडर पत्रकारिताको यात्रालाई आत्मसात गर्दै बेथान्चोक खबर डट कम अझ सशक्त बनोस्, अझ बुलन्द आवाज बनोस् !
जय पत्रकारिता ! जय सत्य !
शुकदेव थपलिया
नेपाल पत्रकार महासंघ,
बागमती प्रदेश परिषद् सदस्य